ताजा समाचार

बमजनका कर्तुत अनुसन्धान गर्दै पाँच जिल्लाका सुरक्षा टोली, के हो बमजन काण्ड ?

काठमाडौँ ।  तपस्वी भनिएका रामबहादुर बमजनका सिन्धुपाल्चोक, सिन्धुली र बाराका आश्रमबाट दुइ युवतीसहित चार अनुयायी गायब भएको विषयमा गृह मन्त्रालयले अनुसन्धान थालेको छ।

मन्त्रालयले तपस्वी बमजनका पाँच जिल्लामा रहेका आश्रमलाई अनुसन्धानको दायरामा राखेर कारवाही अघि बढाएको हो।

गृहमन्त्रालय प्रवक्ता सहसचिव रामकृष्ण सुवेदीले बमजनको केन्द्र बारा भएकाले त्यहाँका प्रमुख जिल्ला अधिकारीले समन्वय गर्ने गरी अनुसन्धान अघि बढेको बताए। उनका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो र स्थानीय प्रहरीले समेत आफ्नै ढंगले कारवाही अघि बढाउने छन्।

‘बमजन आश्रमबाट बेपत्ताहरूका  विषयमा अनुसन्धान सुरु भएको छ, जिल्लाले आवश्यकता अनुसार केन्द्रसँग समन्वय गर्नेछ,’ सहसचिव सुवेदीले नेपालखबरसँग भने, ‘पाँच जिल्लामा घटना जेलिएको देखिन्छ, बाराले लिड गर्छ।’

बमजनको आश्रमबाट २०६९ देखि २०७२ बीचमा चारजना जना बेपत्ता भएको निवेदन तीन जिल्लाका प्रहरी कार्यालयमा दर्ता भएको हो। बारामा सुरेश आलेमगर, मकवानपुरमा सन्चलाल वाईबा र फुलमाया रुम्बा (पासाङ) र नुवाकोटमा चुल्मा र कर्मा भनेर बोलाइने चिनिमाया तामाङ हराएको भन्दै खोजिदिन आफन्तले निवेदन दिएका हुन्।

‘घटना एकअर्को जिल्लासँग जोडिएकाले समन्वय गरेर अघि बढेका छौं, बारास्थित आश्रमबाट अनुसन्धान सुरु हुनेछ,’ बाराका प्रमुख जिल्ला अधिकारी गणेश भट्टराईले टेलिफोनमा भने, ‘बमजनको मुख्य आश्रम बारा जिल्ला भएकाले अनुसन्धान यहीँबाट सुरु हुन्छ।’

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले हालसम्म तीन जिल्लामा दुई महिला र दुई पुरुष हराएको निवेदन परेको बताए। उनले निवेदन परेका जिल्लामा प्रहरीले आवश्यक अनुसन्धान र कारवाही गर्ने बताए।

‘संवेदनशील घटना भएकाले ब्युरोले समेत आफ्नै तरिकाले अनुसन्धान अघि बढाउने छ, हामीले अनुसन्धान थालीसकेका छौं,’ एसएसपी सुवेदीले नेपालखबरसँग भने।

प्रहरी प्रधान कार्यालयले बमजनका पाँच जिल्लामा रहेका आश्रम, आश्रमका मुख्य ब्यक्ति र उनी निकटहरुको विवरण मगाएर अनुसन्धान थालेको हो।

सिन्धुपाल्चोक आश्रमबाट कहाँ गए दुई अनुयायी?
हेटौंडा उपमहानगरपालिकाका सन्चलाल वाईबाले २०७१ चैत १४ गते सिन्धुपाल्चोकको बाढेगाउँ आश्रमबाट छोरा महेन्द्र वाईबाको मोबाइलमा फोन गरे। ९८६०…१६ मा फोन गर्दै ५१ वर्षीय सन्चलालले आफू १५ गते घर आउने बताएका थिए। अर्को दिन बुवा आउने प्रतिक्षामा बसेका महेन्द्र निरास भए। त्यसपछि बुवा फर्किएनन् न त उनको कुनै खबर नै आयो।

महेन्द्रले २०७२ बैशाख २८ मा सिन्धुपाल्चोक आश्रममा गएर सोधपुछ गरे। उनलाई सन्चलालले आश्रम छाडेको जवाफ दिइयो तर कहाँ गए, कहिले गए भन्ने केही बताइएन। महेन्द्रले बुधबार बुवा हराएकाले खोजिदिन जिल्ला प्रहरी कार्यालय मकवानपुरमा निवेदन दिएका छन्।

सन्चलाल जस्तै सिन्धुपाल्चोक आश्रमबाटै फुलमाया रुम्बा ‘पासाङ’ समेत हराएको भन्दै खोजिदिन भाई विजय रुम्बाले निवेदन दिएका छन्। उनले दिदी सम्पर्कबिहीन भएकाले खोजिदिन भन्दै निवेदन दिएका हुन्।

उनको निवेदनमा भनिएको छ, ‘करिब १० वर्षअघि नेवारपानी आश्रममा आनी बन्न जानुभएकी दिदी २०६८ मा बारा र त्यसपछि सिन्धुपाल्चोक जानु भएको थियो, २०७१ माघदेखि अत्तोपत्तो छैन।’

विजयले दिएको निवेदनमा फुलमायासँग अन्तिम पटक २०७१ माघमा सम्पर्क भएको उल्लेख छ। लामो समय दिदीको खबर नआएपछि विजयले आश्रममा सोधखोज गरेका थिए। आश्रमले उनी छाडेर हिँडेको जवाफ दियो। तर विस्तृतमा केही बताएन।

जसबहादुरले लगेका सुरेश बेपत्ता
३४ वर्षीय छोरा सुरेश आलेमगर हराएको भन्दै बारा प्रहरी र जिल्ला प्रशासनको सम्पर्कमा पुगेका हस्तबहादुर आलेले उनलाई बमजनका विश्वासपात्र जसबहादुर वाईबाले लिएर गएको बताएका छन्।

प्रहरीमा परेको जाहेरीअनुसार सुरेश तीनचार महिनामा घर आउँथे। लामा पोशाकमै उनी २०७२ को जेठमा पनि घर आएका थिए। त्यतिबेला उनी आश्रम नफर्किने मनस्थितिमा घर आएका थिए। जसबहादुर घरमै आएर उनलाई फकाएर लगेको निवेदनमा उल्लेख छ। हस्तबहादुरले छोरा हराएपछि आफूले रामबहादुर बमजनका आश्रम र काठमाडौंसम्म पुगेर हारगुहार गरेको निवेदनमा उल्लेख गरेका छन्।

नुवाकोटबाट सिन्धुली हिँडेकी थिइन चिनिमायाँ
नुवाकोट मेघान गाँउपलिकाकी चिनिमायाँ तामाङ २०६९ सालमा घर आएकी थिइन्। चुल्मा र कर्मा भनेर बोलाइने उनी तपस्वी बमजनको आश्रममा आनी थिइन्। नुवाकोटबाट सिन्धुली जान हिँडेकी उनी त्यसयता सम्पर्कबिहीन छिन्। नुवाकोट प्रहरीमा बिहीबार दिदी गंगामायाले बहिनी खोजिदिन निवेदन दिएकी छन्।

बमजन एक विवादित पात्र
सरकारले २०७४ माघ २६ मा मन्त्रिपरिषद् निर्णयबाट तपस्वी बमजनको बाराकाे हल्खोरियास्थित आश्रम क्षेत्रलाई धार्मिक बनक्षेत्र घोषणा गरेको थियो। यो निर्णयबाट सरकारले विवादमा आइरहने तपस्वी बमजनलाई ‘क्लिन चिट’ दिएको थियो।

आफूलाई महासम्बोधी धर्म संघ गुरु भन्ने बमजनले तत्कालीन प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालासँग बालुवाटारस्थित सरकारी निवासमा भेट गरेका थिए। बारा रतनपुरको सामान्य परिवारका बमजन विवाद सुरु भएपछि नयाँ गन्तब्यमा जाने र जंगल क्षेत्रमा आश्रम बनाएर बस्ने गरेका छन्। बमजनले २०६२ जेठ २ गतेदेखि सुरु गरेको निराहार तपस्या ६ वर्षपछि २०६८ जेठ २ गते सकिएको भनिएपछि उनी चर्चामा आएका थिए। बाराको जंगलमा उनी तपस्या गर्दै गरेको सार्वजनिक भएपछि उनलाई ‘लिटिल बुद्व’ को उपमा दिएर समाचार आउन थालेका थिए।

स्थानीयलाई कुटपिट गरेको भन्दै उनी त्यसको केही समयपछि विवादमा आएका थिए। ध्यान गर्नुअघि उनी भारतका विभिन्न बौद्व धार्मिक स्थल गएको भनिएको थियो। पोखराको एउटा चामल मिलमा कागगर्दा घाइते भएपछि उनी घरमै बसेको तथ्य बाहिर आएको थियो।

७ वर्षसम्म सर्वसाधारण र परिवार सदस्यलाई बन्धक बनाई कुटपिट गरेको अर्को विवादमा बमजन मुछिएका थिए। त्यसपछि विदेशी नागरिकलाई बन्धक बनाएको, वनक्षेत्रका विषयमा विवाद गरेको विषयमा उनी मुछिएका थिए।

पछिल्लो समय बमजन आश्रममा हुने बलात्कार, यौन हिंसा र बेपत्ताका घटना सार्वजनिक भएका छन्। बाराको हल्खोरिया जंगल, सिन्धुली, नुवाकोट, सिन्धुपाल्चोक र मकवानपुरमा उनका आश्रम रहेका छन्। नेपालखबरबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org