ताजा समाचार

खस्कँदो शिक्षा, दोष कसको ?

रमेश शुभेच्छु/प्राय: देशका नगरभित्रका सरकारी विद्यालयमा एक जना शिक्षकको भागमा औषतमा १०–१५ विद्यार्थी छन् । शैक्षिक गुणस्तर भने चित्त बुझ्दो छैन । अभिभावकले गाँस काटेर पनि आफ्ना बच्चालाई निजी विद्यालयमा भर्ना गर्छन् । शिक्षा कार्यालयले हातहातै पुस्तक दिएर विद्यार्थी भर्नाको लागि सामुदायिक विद्यालयमा आमन्त्रण गरे पनि अभिभावक निजीतिरै गइरहेका छन् । कतिपय नगर र गाउँपालिकाले १ देखि ५ सम्मका विद्यार्थीका लागि निःशुल्क पोसाक वितरण अभियान सुरु गरेका छन् । कतिपयले खाजाको आकर्षण ल्याएका छन् । कक्षा १० सम्मको शिक्षा निःशुल्क भन्ने नारा राज्यले लाएको ल्याई छ तर शैक्षिक स्तरमा सुधार आएको छैन । सहरतिर एउटै टोलका बालबालिका बीस तीस वटा गाडीले ओसारी राखेका छन् । यसले उनीहरुलाई आपसमा चिनजान हुन दिएको छैन । दश बजे पुग्नु पर्ने स्कुलका लागि सात आठ बजेदेखि ठिक पर्नुपर्ने बाध्यता छ । बाबुआमा गाडी भाडा र बच्चाको खाना खाजाका लागि सहिद बनेका बन्यै छन् । बजारमा पाइने भन्दा महँगो मुल्यमा कापी किताव, कलम वस्त्र र जुत्ता किनिरहेका छन् ।

राम्राका नाममा टाढाको स्कुल पठाउनाले बालबालिकाको सामाजिक सम्पर्क र सम्बन्ध क्षीण बन्दै गएको छ । अभिभावकको आर्थिक क्षति बढेको बढ्यै छ । समाज र शिक्षाको सम्बन्धका जुइनाहरु चुँडिँदै गएका छन् । यसलाई जोड्नका लागि वार्ड वार्डमा भएको स्कुलमा घरबाट हिँडेरै बालबालिका पुग्ने वातावरण मिलाइनुपर्छ । त्यसो हुन सके बालकले टोलछिमेकबाटै धेरै कुरा सिक्न सक्छन् ।

छरछिमेकका अन्य बालबालिकासँग दाजुभाइदिदीबहिनीको नाता लाउन पाउँछन् र आफू आफूमै एकअर्काको सहयोग र सहारा लिन सक्छन् । बाटामा भेटिएका मानिसहरुलाई बुबा आमा, काका, बडिबा, हजुरबा आदि नाता लाएर बोलाउन सिक्छन् । नारीहरु सबै दिदीबहिनी, काकी, बडी, हजुरआमा, आमा बन्न थाल्छन् । लैङ्गिक दृष्टिले समाजमा बालबालिकालाई हुर्कन पनि सजिलो पर्छ । उनीहरु हामीलाई सबैले चिन्छन् भन्ने नाममा कुलतमा फस्नबाट बच्छन् । त्यसरी गाँसिएको सामाजिक सम्बन्धले बालबालिकाको सिकाईसँग सामाजिक, नैतिक चेतना पनि विकास हुन्छन् । कानुनी र सांस्कृतिक चेतना पनि शिक्षाकै पाटो बनेर आउँछन् । शारीरिक रुपमा पनि चुस्त दुरुस्त र स्वस्थ्य रहन्छन् टोलमा कोही जन्मिएको, कसैको विवाह, ब्रतबन्ध, बेलविवाह आदि भएको, कोही बिरामी परेको, केही दुर्घटना भएको, कसैले केही पाएको, केही गुमाएको, कसैको मृत्यु भएको कुरालाई प्रत्यक्ष देखेर, सुनेर अनुभव गर्न सक्छन् । आज यी सारा कुरा पढेर मात्र जानिने अवस्थामा पुगेका छन् । वर्तमान निजी शिक्षाले ल्याएको ठूलो चुनौती हो यो । निजी शिक्षालाई प्राथमिकता दिउनजेल शिक्षा सर्वाङ्गिण बन्न नसक्ने देखिन्छ ।

जुन विद्यालयका शिक्षकहरु राज्यले दिएको तलब खान्छन् त्यही विद्यालयको सिकाई र उपलब्धिको मापनमा विद्यार्थीहरु कमजोर बन्नु पक्कै पनि शुभ सङ्केत होइन । राज्यका जनप्रतिनिधि र कर्मचारीहरुमा राज्यकै लगानी रहेको विद्यालय शिक्षामा विश्वास नरहनु झन् राम्रो होइन । सरकारी विद्यालयमा पढाउने शिक्षकले नै आफ्ना बालबच्चा निजी विद्यालयमा लगेर पढाउनु झन् नसुहाउने कुरा । अब यी सबै पक्षलाई चिर्दै सार्वजनिक शिक्षा बलियो बनाउनुपर्छ । यसका लागि टोल टोलका सामाजिक कार्यकर्ता सचेत हुन आवश्यक छ । यसले शैक्षिक जनशक्तिको व्यवस्थापनमा पनि समस्या ल्याएको छ । एउटा शिक्षक सञ्चालकले चाहँदा सँस्थामा रहने र नचाहँदा नरहने अवस्था छ । हाम्रा बालबच्चाले एउटै शिक्षकसँग पढिरहन पाउँदैनन् । शिक्षालाई स्थानीय तहमा दिनुको मनोवैज्ञानिक अर्थ छ तर नेपाली समाजले त्यसलाई फरक अर्थमा बुझिरहेको छ । जस्तै म मेरै गाउँमा पढाउने शिक्षक छु भने म कुनै विद्यार्थीका स्वभावसँग उसको तीन पुस्तेलाई तुलना गरेर हेर्न सक्छु । उसका चरित्रलाई पनि मातृवंश र पितृवंशसमेतका आधारमा ठम्याउन सक्छु । उसलाई सुधार गर्न दाजुदिदीे, छिमेकी, काका, फुपू आदिको उदाहरण दिन सक्छु । सहरको निजी स्कुलमा पढाउँदा बालबालिकाको सुधारका लागि मैले यी सामथ्र्य राख्न सक्तिनँ । आजका शिक्षक र विद्यार्थीको सम्बन्ध बलियो हुन नसक्नुको मुल कारण पनि यही हो । निजी शैक्षिक संस्थाले छ–छ महिनामा शिक्षक परिवर्तन गरिदिँदा शिक्षकको आत्मवल कमजोर भएको छ । शिक्षण पेसाप्रतिको दृष्टिकोण कमजोर भएको छ । विश्व सन्दर्भमा शिक्षण पेसाभन्दा ठूलो र सम्मानित पेसा अरु हुन सक्तैन । नेपालका सन्दर्भमा अरु केही हुन नसकेका शिक्षक बन्नुपर्छ । यसले शिक्षकको शिरसँगै शिक्षा क्षेत्रको शिर पनि नुहाएको छ ।

सार्वजनिक शिक्षा बलियो बनाउने नाउँमा जनप्रतिनिधिले बालबच्चाको अभिभावकत्व लिँदै हिँडेको समाचार आएर पुग्दैन । अभिभावकत्व लिएँ भनेर लिइने कुरा होइन । अभिभावकत्व समर्पण हो । त्यो समर्पण वास्तविक अभिभावकबाहेक अरुले लिन सक्तैन । अहिले जनप्रतिनिधिले अभिभावकत्व लिएँ भनेका बालबालिकालाई आफूसँगै राखेर आफ्नै भान्सामा खुवाएर आफू सोसरहको जीवनस्तर दिएर राख्न सक्छन् भने अभिभावकत्व लिएँ भन्नु ठिकै हो नत्र यो आँशिक अभिप्रेरणा र सहानुभूतिबाहेक केही होइन । यस्तो काम सहानुभूति र सहयोगबाहेक अभिभावकत्व होइन । साँच्चै अभिभावकत्व बहन गर्न ज्यादै कठिन छ । आजका अभिभावक बिहान उज्यालो भएदेखि साँझ परुन्जेल बालबच्चाको शिक्षाका लागि खटेका छन् । आफू सुकेर बालबालिकाको भविश्य हरियो बनाउन लागेका छन् । कसैले म तेरो अभिभावक भएँ वा तेरो अभिभावक महुँ भन्दैमा अभिभावक र विद्यार्थी भइने भए नेताभन्दा धेरै सेलिबे्रटी अभिभावक बनिसक्ने थिए । समाजसेवीहरु टोल टोलकै अभिभावक बनिसक्ने थिए । विद्यालय चलाउने सञ्चालकहरुलाई त अभिभावक बन्न कठिन छ डुलिहिँड्ने नेता कसरी अभिभावक बन्न सक्छन् ? यो आंशिक अभिप्रेरणा र बढी हल्ला बाहेक केही होइन ।

सार्वजनिक शिक्षाको जग बलियो बनाउन स्थानीय निकायको नियमित अनुगमनको खाँचो छ । दुई दशकसम्म जनप्रतिनिधि नहुँदा अधिकांश विद्यालय राजनीतिक कार्यकर्ता भर्तीकेन्द्र बने । व्यापारीहरुले कालो धन सेतो बनाउने स्रोतका रुपमा विद्यालय प्रा.लि खोल्न थाले । गाउँठाउँमा तिनले उति प्रभाव जमाउन नसके पनि सहरका सरकारी विद्यालय सुकाउने गरी विद्यार्थी तान्न सफल भए । विदेशीहरुसँग सहकार्य गर्ने नाममा आइ एन जी.ओको चलखेलको अखडा पनि यही विद्यालय बन्यो । तराईका विद्यालयमा हिन्दी र हिमाली भेग एवम् उपत्यकाका विद्यालयमा चाइनिज भाषा पढाइ भएको र आफ्ना बालबालिकाले विद्यालय हाताभित्र नेपाली बोलेबापत भाटे कारबाही भोगेको कुराबारे राज्य बेखबर रह्यो । यो राज्य बालियो बन्थ्यो भने एक जना चाइनिज भाषा शिक्षक नेपालका कुनै विद्यालयमा प्रवेश गरेवापत एक जना नेपाली शिक्षक भाषिक सांस्कृतिक दूत बनेर चाइना जान पाउने व्यवस्था गर्न सक्थ्यो । स्नातक वा स्नातकोत्तरका भाषाका विद्यार्थीलाई प्रयोगात्मक परीक्षाका लागि पठाउन सक्थ्यो । तर राज्य सधैँ बेखबर रह्यो । भारतका विद्यालय र विश्वविद्यालयमा रहने नेपाल चियरका लागि पनि नेपाली शिक्षक प्राध्यापकले सहभागी हुन पाएनन् । उताको विशेषज्ञता पनि नेपालले पाएन । बहुविश्वविद्यालयको अवधारणा केवल शिक्षाको निजीकरणको ढोका बन्यो र केही मानिसको पदाधिकारी बन्ने भर्याङ मात्र बन्यो । ट्युसन सेन्टर, आइएस टी.एल, टोफेल, कोरियन भाषालगायत अन्य रोजगारीमूलक भाषा, ड्राइभिङ शिक्षा, कम्प्युटर शिक्षा जस्ता शिक्षाका नाममा केही व्यक्ति धनी हुन र सारा नेपाली ठगिनबाहेक केही हुन पाएन सकेन । देशका शैक्षिक संस्था कुन विदेशी नागरिक, ठाउँ वा संस्थाका नाममा खुल्यो भन्ने पनि राज्यले थाहा पाएन । बाहिर शिक्षासेवीका नाममा भित्र भित्र विदेशी चलखेलको एजेन्ट बन्ने शिक्षासेवीलाई राज्यले पहिल्याउनै सकेन । अधिकांश निजी विद्यालयहरु योग्यता कम भएका शिक्षकबाट काम लिइरहेका छन् । योग्य शिक्षकलाई पनि कम तलबमा काम लगाइरहेका छन् । त्यसबाट कुनै एक व्यक्ति र परिवारबाहेक समाजलाई लाभ पुग्न सकेको छैन ।

निजी शिक्षालाई व्यापारका रुपमा कम्पनी कार्यलयमा दर्ता गर्न दिइने नीति खराब थियो । अब राज्यले सचिन जरुरी छ । केही शिक्षासेवीले खोलेका संस्थाले राम्रो शिक्षा नदिएका होइनन् तर अधिकांशले व्यापार गरिरहेका छन् । शिक्षालाई व्यापारबाट मुक्त गर्न सकेका मुलुकले मात्र उन्नति गरेका छन् । त्यो उन्नतिका लागि नेपाली शिक्षा जगत्लाई गुठी र सरकारीमा सीमित गरिनुपर्छ । शिक्षण पेसाको मर्यादालाई पुनर्मुल्याकन गरिनुपर्छ । एउटा इन्जिनियरको कमजोरीले केही पुल घर भत्किएलान्, एउटा डक्टरको कमजोरीले केही विरामी मर्लान्, एउटा वकिलको कमजोरीले केही मानिसले न्याय नपाउलान्, एउटा व्यवस्थापकको कमजोरीले उसले नेतृत्व गरेको संस्था डुब्ला तर शिक्षाको कमजोरीले समाज र देश डुब्छ ।

यो डुबानबाट बच्न र बचाउन आवश्यक छ । यो आवश्यकता परिपूर्तिका लागि निजी क्षेत्र सक्षम छैन । शिक्षाको माध्यम पनि अंग्रेजी मात्र प्रयाप्त छैन । नेपाली माध्यममै पनि राम्रो शिक्षा दिन सकिन्छ र अंग्रेजी बोलचाल र लेखनका लागि केही विषय थप गरे पुग्ने देखिन्छ । हाम्रा सामाजिक शिक्षामा नेपाली नामहरु ऋंग्रेवजीमा उचारण गर्नुले हाम्रो मुलुक चिनाउन सकिँदैन । अबको चुनौति शिक्षामा केन्द्रित छ । अहिलेसम्म उत्पादन गरेको जनशक्ति दास मनोवृत्तिको छ । त्यस मनोवृत्तिलाई परिवर्तन गरी आत्मसममन पूर्ण बनाउन आवश्यक छ । यसका लागि नीति नियम निर्माण र त्यतिकै कडाइका साथ लागू गर्न आवश्यक छ । शिक्षासँगै डुब्दै गएको देश उकास्न आवश्यक छ ।

लेखक साहित्यकार हुनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org