ताजा समाचार

कथा : नमिठो यात्रा

सरस पाण्डे/काठमाडौँको बसुन्धाराको इसान अस्पतालमा साथी सुनिताको छोरी बिरामी भएर राखेको पाँच दिन भएको थियो । बिरामी भएकै दिन फोन गरेकी थिइन् । ‘छोरीलाई निमोनिया भएछ । तँ आइज न है ? मलाई डर लागिरहेछ’ भनेकी थिइन् । म गाउँमा महिला हिंसाविरूद्धको १६ दिने अभियानमा थिएँ । अभियान १२औं दिनमा थियो । सुनिता मेरी बालसखी हुन् । हामी अत्यन्तै मिल्ने साथी हौँ । त्यसैले एकअर्काको सुख, दुःख सजिलै थाहा पाइन्छ । तर दुई/चार महिनादेखि आआफ्नो व्यस्तताले हामीबीच धेरै कुरा हुन्थेन ।

महिला हिंसाविरुद्धको अन्तिम दिनको कार्यक्रम ३ बजे सकियो । म गल्छीबाट बसमा सुनिताको छोरी सम्झँदै आएँ । ५ बजे कलंकी आइपुगेँ । सिटी यातायातका सहचालकले ‘सीतापाइला, स्वयम्भू, बालाजु ,बसुन्धारा, चावेल, चावेल…’ भन्दै कराइरहेको सुनेर हतारहतार बसमा चढेँ । अन्तिम सिट खाली रहेछ । त्यहीँ गएर बसेँ। सँगैको बसेको २५/३० बर्षको एक युवाको बोली राम्रो लागेन । ऊ बोल्न खोज्दै थियो मसित । तर फोन आयो साथीको ।

काँ आइपुगिस् ?

सीतापाइला ।

ए… ! ल ल आइज ।

म आफ्नै सुरमा थिएँ । स्वयम्भू आइपुगियो ।

तिम्रो घर कहाँ हो ?

किन ?

भन्न हुन्न र ?

चिन्नु न जान्नु घचेडी माग्नु ! भनेको यही हो । सिधै घर सोध्ने ?

मभित्र रिसको ज्वाला दन्किसकेको थियो । अब एउटा प्रश्नमात्र सोधेको भए कस्सम ! मेरो हात त्यसको गालामा हुन्थ्यो होला । पहिलो चोटी भेटेको मान्छेले सीधै तिमी भन्यो । आफूभन्दा बढी उमेर भएकाहरूले त ‘तिमी’ भन्दैनन् ।  कस्तो जवाफ दिने त्यो मान्छे हेरेर हुन्छ । विचार गर्नुपर्छ धेरै । हुलियाले बताउँछ सबै ।  टाउकोमा नौ रंग घसेकोस । भर्खर जुँगाको रेखी बसेकोस । रातभर फेसबुक चलाएर होकी जाँड खाएर हो आँखाभित्र पसेको केटो ‘तिमी’ भन्छ बा ! अनि रिस उठ्दैन ? भन्नुस् त ? म छेउमा सर्न खोज्छु ऊ झन् टाँस्सिन खोज्छ ।

अलि पर सर्नुस् !

तिमी अलि वर आउ न !

काम छैन तेरो ?

नरिसाउ न !

मैले त्यसको नियत बुझिसकेको थिएँ । किनकि जमुना काकीको छोरी जुनालाई काठमाडौँ जाँदा एउटा नकच्चरोले त्यस्तै गरेछ । जुना सोझी थिइन् ।  गल्छी बजारमा जमुना काकीले कपडाको पसल राख्नुभएको छ । जुना सात कक्षामा पढ्थी । शनिवारको दिन जमुना काकीले पसलको लागि कपडा किन्न छोरी जुनालाई पनि सँगै काठमाडौँ लैजानु भएछ । धादिङको बसमा दुई आमाछोरी चढेछन् । उनीहरू छुट्टाछुट्टै सिटमा बसेछन् । किनकि दुई सिटमा एकएक सिट मात्र खाली रहेछ । जुना सात कक्षामा पढ्ने भए पनि हेर्दा बाह्र पढ्ने जस्तै देखिन्थी । गोरी, अग्ली सलक्क परेकी जुना भर्खर फक्रिएकी सुन्दर फूल थिइन्  ।

भाइ ! तपाईं त्यो सिटमा बस्नुस् न ।

हैन ! म यहीँ बस्छु ।

हामी आमाछोरी एकैठाउँमा बसौँ भनेर ।

मैले यही सिटको टिकट काटेको छु दिदी ! म अन्त जान्न  ।

लौ लौ भैगो ।

छोरी तँ त्यहीँ बस् । म यता बस्छु है !

हस आमा ।

त्यो पिचासले सोझी जुनालाई मौकाको फाइदा उठाएछ । कताकता हात लग्यो भनेर मसँग आएर रोएकी थिइन् त्यो दिन जुनाले ।

काकीलाई भन्नुपथ्र्यो नि !

भन्दा …

कसरी भन्नु आमा अर्कै सिटमा ।

गाडिबाट ओर्लेर नि भनिनस् ?

भनेँ ।

अनि,

आमाले भै’गो चुपलाग् ! यस्तो कुरा कसैसित नगर है ? लाज हुन्छ ।

किन आमा लाज हुने ।

किन हुनु नि देखेकी छैनस् ? हाम्रो गाउँकी ममतालाई ।

के भा’छ र आमा ?

के हुनु नि ! पल्लो गाउँको नकुले बज्याले सानैमा जंगलाँ लगेर केके गरेको भनेर गाउँभरी हल्ला भाथ्यो । त्यसपछि कसैले माग्न आएन । बुढी भैसकी बिचरी ।

बुढी भएर के भो त आमा ।

नकरा !

यस्तो भा’को कुरा कसैलाई नभन्नु तेरो नि फेरि  बिहे हुँदैन ।

जमुना काकी आमा समूहको अध्यक्ष हुनुहुन्थ्यो । समय समय आमा समूहले विभिन्न महिला मैत्री नारा लगाएर गाउँ थर्काउँथ्यो । तर त्यही आमाले आफ्नी छोरीमाथि भएको अन्याय चुपचाप सहनाले जुनाको मस्तिष्कमा असर परेको थियो । जुना त्यो दिनदेखि कोही केटासँग पनि नजिक भइनन् । कोहीसँग पनि बोलिनन् । एकोहोर भएर झोक्राइरहन्थी । किनकि उसको अबोध दिमाखमा आमाले डर जन्माइदिएकी थिइन् ।  जमुनाको सबैभन्दा मिल्ने साथी म नै थिएँ । घरमा आमाबुवाको झगडादेखि के तरकारी खाएकोसम्म भेट हुँदा मसँग भन्थिन ।

म भन्दा उमेरले धेरै कान्छी थिई जुना ।तर पनि हाम्रो कुरा मिल्थ्यो।हुन त म प्राय सबै सँग उत्तिकै मिल्छु। बुढा,बुढी, साना बच्चा,बच्ची सबैले सजिलै मसित कुरा गर्ने वातावरण मैले बनाएको थिएँ।जुना साँच्चै मायालु थिई । कोही सँग नबोल्ने भएकी जुनालाई मैले लाख कोसिस गर्दा बल्ल उसमाथि भएको अन्याय मलाई सुनाएकी थिई। जमुना काकीले छोरीको अवस्था देखेर हार खाइसक्नु भएको थियो । मैले आफ्नै घरमा ल्याएर दुई महिनासम्म जुनालाई सम्झाएर सामान्य अवस्थामा फर्काएर पठाएको थिएँ । अहिले जुनाले मनोविज्ञान विषयमा स्नातक तह पार गरेर गाउँमै हिंसामा परेका महिलाहरूलाई मनोपरामर्श दिँदै हिँडेकी छिन् । उसकी आमाले आफ्नो गल्तीप्रति लज्जीत हुँदै छोरीले नयाँ जीवन पाएकोमा मलाई धन्यवाद पनि दिनुभयो । म मेरो गाउँमा कसैले अन्याय नपाउन् भन्ने चाहन्थेँ । त्यसैले सहरमा मनोविज्ञान विषय पढेर गाउँमै गएँ । त्यसपछि हरेक घरका महिला, छोरी  बुहारीको कुरा सुन्न थालेँ । सुरुमा त धेरै गाह्रो भयो ।

हाम्रो घरको कुरामा तलाई केको टाउको दुखाई ?

आफ्नो बाटो हिँड ?

धेरै जान्नी न हो ।

यस्ता प्रश्नसँग जुधेर अगाडि बढेँ । जुनाजस्ता धेरैलाई सही बाटो देखाएँ ।

आज मलाई नै यस्तो समस्या प¥यो । तर मैले सहिन । सहेर बस्न कुरा पनि होइन । बस रोक्न लगाएँ । जुत्ता फुकालेँ । सकेको बल लगाएर जुत्ता त्यसको गालामा बजारेँ । मैले नभने पनि सबै बसका पेसिन्जरले बुझिसके छन् । एकदुई जनाले त नराम्रोसँग लछारपछार गरेर पिटे । सहचालकले बसबाट घिसार्दै ओराल्यो जुन ठाउँ बसुन्धारा थियो । म पनि त्यहीँ ओर्लिनु पर्ने । साँझ परिसकेको छ । केटो मलाई मलाई आँखा तरेर हेर्दै थियो । म अस्पताल लागेँ । केटो पनि पछिपछि आयो । मेरो मन डराउन थाल्यो । तै पनि नडराएझैँ गरेर हिँडे । केटो मभन्दा अगाडि पुगेर फेरि आँखा तर्दै गयो ।

साथीलाई फोन गरेँ । अस्पतालको ५ नम्बरको कोठामा जानुपर्ने थियो । म पनि केटाको पछिपछि सोही कोठामा पसेँ । सुनितालाई पनि देखेँ । उसको नजिक पुग्न मात्र के आँटेको थिएँ ।

केटाले साथीलाई भाउजू भन्दै नमस्कार ग¥यो ।

भाउजू  ! नमस्कार ।

नमस्कार ।

ओहो ! सँगै ?

तैँले बाबु (देवर) लाई चिनेकी थिइस् ?

सुनिताको प्रश्नले म चकित भएँ । मैले टाउको हल्लाएर नचिनेको संकेत गरेँ । मेरो मामा ससुराको छोरो नविन के त ! अस्तिन कुरा गरेको थिएँ नि ? अमेरिकाबाट हिजो भर्खर आउनुभएको । बहिनी ‘दे’ भन्दा मानिनस् । कति सज्जन हुनुहुन्छ । अहिले त नुवाकोटको केटी फिक्स भएर बिहे गर्न आउनु भएको । म छक्क परेँ । केटो सुतिरहेकी विरामी छोरीको हात समाएर, कस्तो छ भन्दै थियो ।

बाबु हजुरको सर्ट च्यातिए छ नि !

हो र भाउजू !  (काँपेको स्वरमा)

हैन के भयो हजुरलाई ?

केटोको मुन्टो

जमिनमा केही खोजेझैँ गरी निहुरीरहेको थियो ।

त्यसपछि…

 

यो पनि पढ्नुस् ।

कथा : सम्झनामा यौटा मान्छे

 

लैङ्गिक हिंसा कहिलेसम्म ?

 

छोराको होइन सन्तानको खाँचो होस्

 

समीक्षा : बालबालिका बुझ्ने पुस्तक ‘स्कुल बेच्ने बालक’

तिहारको रमझम !

निर्मला हत्याको १०० दिन : न्याय नपाइने देश !

फूलमा आत्मनिर्भर हुने कहिले?

लोकतन्त्र होइन लुटतन्त्र रहेछ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org