ताजा समाचार

‘पुख्र्यौली लोकनाच : एक चिनारी’ पुस्तक विमोचन

बुटवल ।  रुपन्देहीको देवदह–१० भलुहीमा प्रतिभा पुनद्वारा लिखित ‘पुख्र्यौली लोकनाच ः एक चिनारी’ नामक पुस्तकको विमोचन गरिएको छ । साथै कलाकार सुनिल रञ्जितको ‘पुख्र्यौली लोकनाच’ शीर्षकको चित्रकला प्रदर्शनी यहाँ सम्पन्न भएको छ ।

अनुसन्धाता मेजन पुन तथा लेखक प्रतिभाको संयोजकत्वमा पुन समाज रुपन्देहीद्वारा आयोजित सो कार्यक्रम करबाकेलीलाई आफ्नो कुल सम्झेर पूज्ने पर्वका दिनको अवसर पारेर आयोजना गरिएको थियो ।

विविध विधाको खोज, अध्ययन, अनुसन्धान तथा प्रकाशनका लागि शुरु गरिएको यो अभियानलाई देशका विभिन्न जिल्ला तथा विदेशका विभिन्न स्थानमा लैजाने कार्यक्रमका संयोजकद्वय मेजन पुन र प्रतिभा पुनले बताउनुभयो । आधुनिक शैलीका २९ वटा तेल रङ्गका चित्र प्रदर्शनीमा राखिएको थियो । धौलागिरी क्षेत्रमा विशेषत पुन मगर जातिमा देखाइने सोरठी नाच सो अवसरमा प्रदर्शन गरिएको थियो । विशेषत जन्मदेखि मृत्युसम्मका विभिन्न संस्कार, संस्कृति, चाडपर्व, मेला आदिमा यो नाच प्रस्तुत गरिन्छ ।

वरिष्ठ कलाकार शशी शाह पुख्र्यौली नाच शृङ्खलाका चित्रहरु अवलोकन गर्दै चित्रकलाका हरेक विधामा पोख्त रञ्जितको हात मूर्तिकलामा पनि निकै दरो रहेको बताउनुहुन्छ । वरिष्ठ कलाकार उत्तम नेपाली कुनै व्यक्तिको सोचमा देशको संस्कृति र सामाजिक परम्पराको प्रभाव पर्नु स्वाभाविक प्रक्रिया रहेको भन्दै कलाकार रञ्जितको ‘पुख्र्यौली नाच’ प्रदर्शनीमा राखिएका चित्रहरूमा नेपाली संस्कृतिलाई कलात्मकरूपले अभिव्यक्त गरिएको पाइएको बताउनुहुन्छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org