ताजा समाचार

राजदूत लक्की काण्ड के हो ?

काठमाडौं २४ पुस ।  अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिन निर्देशन दिएका छन्।

सोमबार साँझ बसेको मन्त्रीपरिषद बैठकले विवादास्पद राजदुत शेर्पालाई बर्खास्त गर्ने निर्णय गरेको खबर मन्त्रीपरिषद स्रोतबाटै बाहिरिएको थियो। तर राती अबेर चाहिँ बर्खास्त गरिएको नभएर राजिनामा दिन सुझाव मात्र दिएको बताइयो।
प्रधानमन्त्री ओली र अध्यक्ष प्रचण्डले सोमबार शेर्पालाई सरकारी निवास बालुवाटारमा बोलाएर राजीनामा दिन सुझाव दिएको एक मन्त्रीले  बताए। ‘यस्ता समाचारमा नाम उल्लेख नगर्न’ भन्दै ती मन्त्रीले भने, ‘दुबै नेताले शेर्पालाई राजीनामा नदिए बर्खास्त गर्ने निर्णयका लागि सरकार बाध्य हुने जानकारी गराएका छन्, संभवतः उनले चाँडै राजिनामा दिनेछिन्।’

प्रधानमन्त्रीले राजिनामा दिन निर्देशन दिएकाले शेर्पालाई बर्खास्त गर्नेबारे सोमबारको मन्त्रिपरिषद बैठकमा छलफल नभएको ती मन्त्रीले बताए। प्रधानमन्त्री ओलीले शेर्पासँग कुरा गरेको र चाँडै राजीनामा आउने जानकारी मन्त्रिपरिषद्लाई गराएका थिए।

‘सम्बन्धित नेतृत्वले कुरा गरेका छौं भनेपछि निर्णय भइसकेको छैन, आजभोली नै शेर्पाको राजीनामा नआए बर्खास्त गर्नुको बिकल्प रहँदैन’, ती मन्त्रीले मंगलबार बिहान भने।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गरेको भन्ने समाचार सरकारबाटै बाहिरिएको थियो। तर रातारात ‘शेर्पा बर्खास्त नभएको तर राजीनामा नदिए बर्खास्त गर्ने’ खबर आएको हो।

अष्ट्रेलियामा पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई मानव बेचबिखनको आरोप लगाएपछि उनी विवादमा परेकी थिइन्। विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो। परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गर्दै आएकी छन्। राजदूत विवादमा परेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र सत्तापक्षीय सांसदहरुले छानबिनको माग गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org