ताजा समाचार

स्वास्थ्य मन्त्रालयमा एचएहरुलाई प्रवेश निधेष

काठमाडौं  । संघीयता अनुसारको नयाँ संगठन संरचनामा हेल्थ असिस्टेन्ट (एचए)लाई अन्याय गरेको भन्दै दवाव दिन स्वास्थ्य मन्त्रालय पुगेका एचएहरुलाई मन्त्रालय प्रवेश निषेध गरिएको छ।

मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले मन्त्रालय परिसरभित्र होहल्ला भएपछि प्रवेशमा रोक लगाइएको बताए । ‘मन्त्रालयभित्र  धर्ना,जुलुस होहल्ला गर्न पाइएन नि,’ उनले भने ।
हेल्थ असिस्टेन्ट संघको नेपाल (हान)को अगुवाईमा  मन्त्रालयमा धर्ना र घेराउ कार्यक्रम गर्न पुगेका एचहरुलाई प्रहरी परिचालन गरि मन्त्रालयभित्र प्रवेश निषेध गरिएको हानका केन्द्रिय सचिव दीर्घ बोगटीले बताए ।

उनले भने,‘आफ्नै मन्त्रालयको कर्मचारीहरुलाई प्रहरी परिचालन गरि प्रवेशमा रोक लगाइएको छ, हामी माइतीघर मण्डलामा बसेर दवाव दिइरहेका छौँ ।’ उनले मन्त्रालय उग्ररुपमा प्रस्तुत भए एचएहरु पनि आफ्नो हकअधिकारको लागि पछि नहट्ने बताए ।

मंगलबार पनि एचएहरुको दवाव कार्यक्रम चलिरहेकै समयमा अचानक  प्रहरीले हस्तक्षेप गर्दा केहीबेर स्थिती तनावमय बनेको थियो । मन्त्रालय परिसरभित्र होहल्ला र धर्ना गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको थियो ।

एचएहरुले नयाँ संरचनामा शैक्षिक योग्यता र लोकसेवाको प्रक्रियाको आधारमा कर्मचारीको पद र जिम्मेवारी तोकिनुपर्नेमा केही व्यक्तिको स्वार्थमा बनाइएको संगठन संरचना खारेजीको माग गरेका छन्।

‘नयाँ संगठन संरचना विभेदकारी भएको भन्दै हामीले पटक पटक सुझावसहितको ज्ञापन पत्र बुझाएका थियौँ,’ संघका कार्यवहाक अध्यक्ष दिपेन्द्र खड्काले भने, ‘तर, हाम्रो माग सुनुवाई नभएपछि मन्त्रालय केन्द्रित आन्दोलन गरेका हौँ। यही आन्दोलनमा पनि प्रहरीले हस्तक्षेप गरेर हाम्रो आवाज दवाउने कोशिश भएको छ।’
प्रहरीले भने माथिको आदेश अनुसार नै प्रवेशमा रोक लगाइएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org