ताजा समाचार

अचेल काठमाडौंमा झ्याप्पझ्याप बिजुली किन जान्छ ? कुलमानले खुलाए कारण

काठमाडौं । काठमाडौंमा माग ह्वात्तै बढेकाले झ्याप्पझ्याप बिजुली जाने गरेको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताएका छन् । प्रबन्ध निर्देशक घिसिङले राजधानीको माग र आपूर्ति व्यवस्थाबीच तालमेल नमिल्दा समस्या भएको बताएका हुन् ।

प्रबन्ध निर्देशक घिसिङले भने, ‘बिजुलीको माग ह्वात्तै बढेको छ। पोहोर यतिबेला पिक आवरमा काठमाडौंको माग ३२० थियो, अहिले ४०० मेगावाट पुगेको छ । घिसिङले थपे, ‘जाडो बढेको छ, धेरैले हिटर बाल्छन्, एसी चलाउँछन्। हाम्रो वितरण प्रणाली उही छ। माग धान्न नसकेर ट्रान्सफर्मर पडकिन्छन्। बिजुली झ्याप्पै जान्छ।’

लोड बढ्दा धेरै तात्ने भएकाले कहिलेकाहिँ फिडर लाइनमै समस्या आउँछ। ‘अस्ति सिंहदरबारभित्रको ट्रान्सफर्मर नै जल्यो, महाराजगञ्ज क्षेत्रमा पनि समस्या बढी छ,’ घिसिङले भने।

घिसिङका अनुसार पाटनबाट बानेश्वर जाने ६६ केभीको प्रसारण लाइनमा ओभरलोडको समस्या छ। त्यसैले यो प्रसारण लाइनबाट बिजुली गएका क्षेत्रमा बढी समस्या आइरहेको छ।

माग बढ्दा टान्सफर्मर र फिडर लाइनमा मात्र होइन सवस्टेशनमै ओभरलोड भएका छन्। बत्ती जानुको अर्को कारण बाहिरबाट आउने ट्रान्समिसन लाइनको समस्या पनि हो।

‘कहिले मर्स्यांदीबाट आएको प्रसारण लाइनमा समस्या हुन्छ, कहिले ढल्केबरबाट आउने लाइनमा रूख काटिदिन्छन्,’ घिसिङले भने, ‘ट्रंक लाइनमै समस्या आएपछि काठमाडौंमा असर परिहाल्छ। तर काठमाडौंभित्रको पूर्वाधारको मुख्य कारण हो।’

प्राधिकरणले बिजुली जाने समस्या हल गर्न तत्कालै राजधानीका ५०० वटा टान्सफर्मर परिवर्तन गर्न लागेको छ। तत्कालका लागि केही फिडर लाइन पनि परिवर्तन गर्दैछौं तर यो दीर्घकालीन समाधान होइन, दीर्घकालका लागि राजधानीमा दुई हजार मेगावाटको वितरण प्रणाली बनाउनु पर्छ,’ घिसिङले भने, ‘त्यसका लागि १३२ र २३२ केभी प्रसारण लाइन राख्नुपर्छ। त्यस्तो प्रसारण लाइन भूमिगत बनाउनुको विकल्प अब छैन।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org