ताजा समाचार

पृथ्वीनारायण शाहलाई थुक्नुको अर्थ

काठमाडौं । देशभर पृथ्वीनारायण शाहलाई राष्ट्रिय एकताको प्रतीक मान्दै उनको जन्म जयन्ती मनाइरहँदा कीर्तिपुरमा भने विरोध कार्यक्रम भयो।

पृथ्वीनारायण शाहले राष्ट्र एकीकरण नभइ सयौंको ज्यान लिएर दमन स्वरुप काठमाडौंमा आक्रमण गरेको भन्दै नेवा: अगुवाहरुले शाह एकीकरण नायक हुन नसक्ने बताउँदै अघिल्ला वर्षहरुदेखि नै विरोध कार्यक्रम आयोजना गर्दै आएको हो।

यसपटक नेवा: प्रदेशमा आदिवासी जनजाति जागरण अभियान, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, नेपाल आदिवासी जनजाति राष्ट्रिय महासंघलगायतका संघसंस्थाले पुस २७ लाई कालो दिवसका रुपमा मनाउन आह्वानसमेत गरेका थिए।

कालो दिवसको कार्यक्रमस्वरुप आदिवासी जनजातिका अगुवाहरुले कीर्तिपुरस्थित छ्याक: ल्वहं (छ्याके ढुंगा) मा थुक्ने कार्यक्रम आयोजना गरिएको थियो। तर यसपटक भने प्रहरीले ढुंगालाई चारैतिरबाट घेरेर कसैलाई थुक्न नदिएको जनजाति अभियान्त श्रीकृष्ण महर्जनले बताए।

उनले भने ‘अन्याय र दमनविरुद्ध कीर्तिपुरवासीले सो ढुंगामा वर्षौंदेखि थुक्दै आएका थिए। विगतका वर्षहरुमासमेत हामीले थुक्दै आएका थियौं। तर यसपटक राज्यले प्रहरी परिचालन गरेर हामीलाई थुक्नबाट रोक्यो।’

नेपाल एकीकरण गर्दा कीर्तिपुरमा सयौंको कान र नाक काटेको भन्दै पृथ्वीनारायणलाई ठेस लागेर लडेको उक्त ढुंगामा कीर्तिपसरवासीहरुले थुक्दै आएको उनले बताए।

गणतान्त्रिक राष्ट्रमा अन्यायविरुद्ध आवाज उठाउँदा ‘माथिको आदेश’ भन्दै आफूहरुलाई रोकिएको र त्यसकारणले केही समय त्यहाँको अवस्था तनावपूर्ण भएको उनले बताए।

परम्परादेखि थुक्दै आएको ढुंगामा थुक्न नदिएका कारण आज भने अर्को ढुंगालाई छ्याक: ल्वहं मानरे प्रतीकात्मक रुपमा थुकेको उनले जनाए।

यस्तै आज ढुंगालाई पहरा दिएर बचाए पनि भोलिबाट त्यहाँ थुक्ने मानिसको कमी नहुने उनले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org