ताजा समाचार

संयोजक थापालाई पार्टीमा फर्किन मिश्रको आग्रह

काठमाडौं । विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले पार्टी छाडेका अर्का संयोजक उज्जवल थापा समूहलाई फर्केर आउन आग्रह गरेका छन् । ललितपुरको बखुण्डोलस्थित पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक मिश्रले वैकल्पिक पार्टी निमार्णका क्रममा आइपर्ने चुनौतीको सामना गर्दै संवाद मार्फत् समस्याको समाधान गर्न आग्रह गरेका हुन् ।

पार्टीको संगठन निर्माण लगायतका विषयमा आएको जटिलतालाई वार्ता मार्फत सम्बोधन गर्न सकिने मिश्रले बताए । संयोजक मिश्रले भने, ‘कुनै आग्रह, पूर्वाग्रह छैन। आउनुस् सँगै हिँडौं । संवाद नगरी हुँदैन। नजानेको यात्रामा सँगै हिँड्दा हाम्रा तर्फबाट पनि कमजोरी भयो होला, छोडेर जानुभएका साथीहरूबाट पनि कमजोरी भयो होला।’

सँगै हुँदा देश र बाहिर बस्ने साथीहरू उत्साहित भएको र अहिले छाडेर जाँदा उत्साहमा चिसोपन आएको मिश्रले बताए। नयाँ पार्टी दर्ता गर्न लागेकोमा मिश्रले थापालाई शुभकामना दिएका छन्। अहिले छुट्टिएको भए पनि हेरिराख्नुस् देश रूपान्तरण गर्ने हामी नै हुने छौं,’ मिश्रले दाबी गरे, ‘कुनै बिन्दुमा फेरि एक हुन्छौं।’

पार्टीको नाम विवेकशील साझा पार्टी नै

उनले अब पार्टीको नाम विवेकशील साझा पार्टी नै रहने बताए। पार्टी आफ्नो मार्गबाट विचलित नभइकन अगाडि बढ्ने उनको भनाइ छ। हामी मूल्य मान्यतासहित अगाडि बढ्नेछौं। विधि र प्रक्रियासहित संगठन विस्तारमा लाग्नेछौं। सदस्यता विस्तार र नीतिपत्र बनाउन लाग्छौं,’ उनले भने।

मिश्रले पार्टी एकलौटी ढंगले संचालन गर्न खोजेको भन्दै अर्का संयोजक थापा नेतृत्वले निर्वाचन आयोगमा हिजो छुट्टै दल दर्ताका लागि निवेदन दिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org