ताजा समाचार

फेल भएका शिक्षकलाई सेवा बापतको पैसा दिएर बिदा गरिंदै

काठमाडौँ ।  नुवाकोटको श्रीकृष्ण माध्यमिक विद्यालयमा विगत २० वर्षदेखि पढाइरहनुभएका दामोदर अधिकारी शिक्षक सेवा आयोगले लिएको अस्थायी शिक्षकको जाँचमा फेल हुनुभयो ।

तर, आफ्नो योगदानका आधारमा सरकारले मुल्याङ्कन गरिदिए हुन्थ्यो भन्ने उहाँको चाहना छ ।

सरकारले शिक्षकहरुमाथि ठूलो लगानी गरेको हुनाले अस्थायी शिक्षकको जाँचमा पास हुन नसकेका शिक्षकको योग्यताका आधारमा मूल्याङ्कन गरेर लगानीको लाभ उठाउन सक्नुपर्ने उहाँको भनाइ छ ।

तर, कतिपय शिक्षकहरुलाई आफूले दिएको जाँचमा फेल भएपछि अब विद्यालय आएर काम गर्न सक्ने वातावरण नरहेको अनुभव हुन थालेको छ ।

धनुषाको जगरुप साह राम पुकार साह माध्यमिक विद्यालयका राजेश यादवलाई अस्थायी शिक्षकको जाँचमा फेल भएपछि अब विद्यालय गइरहन पटक्कै मन लागेको छैन । सरकारले दिने भनेको गोल्डेन ह्यान्डसेकको सुविधा पाए अरु नै केहि गर्ने सोचमा हुनुहुन्छ ।

अस्थायी शिक्षककै माग अनुसार सरकारले गोल्डेन ह्यान्डसेक र स्थायी हुनका लागि परीक्षाको व्यवस्था गरेपनि फेल हुँदा शिक्षण पेशामा लागिरहने इच्छा नै हराएको उहाँ बताउनुहुन्छ ।

सरकारले शिक्षा ऐन नवौं संशोधन गर्ने क्रममा देशभरका झन्डै २६ हजार अस्थायी शिक्षकलाई स्थायी हुनका लागि परीक्षाको व्यवस्था ग¥यो ।

जाँचमा ४० पूर्णाङ्क ल्याउन नसक्ने झन्डै एक तिहाई अर्थात् ८ हजार शिक्षक फेल भए । परीक्षामा २२ हजारको हाराहारीमा शिक्षक सहभागि भएका थिए ।

देशभर हाल एक लाख ९० हजार सरकारी शिक्षक छन् । जसमा ५० हजार शिक्षकको अभाव नै छ । अस्थायी शिक्षकको जाँचमा फेल भएपछि ती स्थानमा झन्डै ३ हजार शिक्षक अभाव हुन सक्ने शिक्षा विभागले जनाएको छ ।

विभागका प्रवक्ता दिपक शर्माका अनुसार अस्थायी शिक्षकको जाँचमा फेल हुँदा ती अभावलाई पूर्ती गर्न सरकारले खुल्ला विज्ञापन गरिरहेको छ । कुन जिल्लामा कति शिक्षकको आवश्यक्ता हुन्छ त्यहि अनुसार शिक्षकको पदपूर्ती गर्ने शर्माले बताउनुभयो ।

प्रवक्ता शर्माले भन्नुभयो, ‘अहिले विज्ञापन हुँदैछ, शिक्षक सेवा आयोगको अन्तिम रिजल्ट सार्वजनिक भएपछि मात्रै अन्तिम निष्कर्ष निस्कन्छ । अहिले हामी तत्काल अभाव पूर्ती कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफलमा छौं ।’

अस्थायी शिक्षकहरुका लागि गोल्डेन ह्यानडसेकमा उसले काम गरेको वर्षको आधारमा ३ तहमा वर्गिकरण गरिएको छ । जसमा ५ वर्ष भन्दा कम काम गरेकालाई सो सुविधाबाट वञ्चित गरिएको छ ।

५ वर्षदेखि १० वर्ष काम गरेकालाई आफूले खाईपाई आएको मासिक तलवको आधा महिनाको तलव, १० देखि १५ वर्ष काम गरेकालाई एक महिनाको र १५ भन्दा बढि काम गरेकालाई डेढ महिनाको तलव पाउने गरि गोल्डेन ह्यान्डसेकमा वर्गिकरण गरिएको छ ।

जसमा प्राथमिक तहकाले बढिमा ६ लाख, निम्न माध्यमिक तहकाले बढिमा ९ लाख ९० हजार र माध्यमिक तहकाले अधिकतम ९ लाख पाउनेछन् ।

हिमालमा ४०, पहाडमा ४५ र तराई र उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षकको दरबन्दी कायम गरिएको छ । दरबन्दी अनुसार शिक्षक भने कमै ठाउँमा मात्रै छन् ।

शिक्षकको अभाव हटाउन सरकारले छलफल गरेपनि देशभर देखिएको ५० हजार शिक्षकको अभाव पूर्तीका लागि के गर्ने भन्ने विषयमा टुङ्गोमा पुगिसकेको छैन । सामुदायिक सूचना नेतवर्क सिआइएनबाट

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org