ताजा समाचार

कठ्याङ्ग्रिँदो चिसोमा पनि महिनावारी हुँदा खुला आकाशमुनि

हुम्ला ।  तापमान झरेर माइनस १० देखि १५ डिग्री सेल्सियससम्म पुग्दा पनि हुम्ला जिल्लाका महिला महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । संस्कार भन्दै छाउ हुँदा घर बाहिरको आँगनमा आगोको सहायतामा उनीहहरू खुला आकाशमुनिको चिसो रात कटाउन बाध्य छन् ।

हुम्लामा ७५ प्रतिशत महिलालाई महिनावारी भएको समयमा ३ देखि ५ दिन घरबाहिरै बस्नुपर्ने बाध्यता छ ।  सर्केगाड गाउँपालिका वडा ३ उनापानी गाउँकी सविता थापाले आफूहरु महिनावारी हुँदा पुस–माघको कठ्याङ्गग्रिँदो चिसोमा खुल्ला आकाशमुनि बस्दै आएको बताइन् ।

सामाजिक मान्यता र वर्षौंदेखि जरो गाड्दै आएको कुसंस्कारले गर्दा महिलाले महिनावारीका बेला यस्तो सास्ती खेप्नुपर्छ ।  उनापानी गाउँको बीचमा रहेको खाली जग्गामा रातको समयमा बालेको आगो ताप्दै बसेकी पञ्चकली भडेराले भनिन्म–‘अहिले ४४ वर्षकी भएँ । मेरो महिनावारी शुरु भएदेखि आजसम्म घरको आँगनमा यसरी आगोको भरमा बस्दै आइरहेकी छु ।’ फेरुवा र छालाको सानो लिप्टो ‘सानो टुक्रा’ ओछ्यान लगाएर पातलो कम्बल ओढेर आगो नजीक बसेकी फडेराले यो महिलाहरुको रहर नभएर बाध्यता भएको बताइन् ।

अन्य गाउँपालिकाका महिला भने महिनावारी ‘छुई’ हुँदा घरको जग छुन नपाए पनि गोठमा बस्दै आएका छन् । शिक्षित महिलाहरू पनि महिनावारी हुँदा घर बाहिरै बस्ने गर्छन् । फडेराले भनिन्–‘यो कुनै छोइछिटो वा छुवाछूतको कुरा होइन तर, यति कुरा थाहा हुँदा हुँदै पनि गाउँ समाजका अगाडि निरीह भएर बस्नुको कुनै विकल्प छैन ।’

बा¥ह उत्तीर्ण गरेकी उर्मिला रावतले यस्तो कुप्रथालाई मान्नु पर्दैन भनेर बहस गर्न खोज्दा समाजमा एक्लिने डरकै कारण चुप लागेर बस्नु पर्ने अवस्था रहेको दुःखेसो पोखिन् ।

उनापानि गाउँ जिल्लाकै शिक्षित गाउँका रुपमा चिनिएको भए पनि कुसंस्कारले जकडिएको परम्परा र धार्मिक अन्धविश्वासका कारण महिलाहरुले यो नियति भोग्नुपरेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । चिसोका कारण यहाँका अधिकाँस महिला बाथ, दम, निमोनिया जस्ता रोगको शिकार बन्ने गरेका छन् ।  सर्केगाड गाउँपालिकामा मात्र नभएर जिल्लाका सातवटै गाउँपालिकामा यो चलन रहेको जिल्ला अस्पतालकी अनमी सरिता बोहराले बताइन् ।

सिमकोटमा पनि छाउपडीको विभेद 

सदरमुकाम सिमकोटमा रहेको सिमकोट गाउँपालिकामा पनि छुई हुँदाका बखत विभेद गरिन्छ । सिमकोट गाउँपालिकामा आठ वडा छन् । सिमकोट बजारमा छुईलाई सामान्य प्रक्रिया कै रूपमा लिने गरिए पनि वडा ७ र ८ मा यो कुप्रथा कायमै रहेको तिर्थपुरी सिंहले बताइन् ।
महिनावारी हुँदा धामी, झाँक्रीको देउता लाग्ने डरले महिला घरभित्र पस्न नमिल्ने भएको सिंहको भनाई छ ।

स्थानीय सरकारले महिलासम्बन्धी कार्यक्रम दैलोदैला पु¥याउन नसके पनि अबका दिनमा हुम्लालाई छाउमुक्त जिल्ला बनाउने प्रतिवद्धता सर्केगाड गाउँपालिका उपाध्यक्ष जोशी धामीले व्यक्त गरे ।

लामा समुदाय भने उद्धार  

हुम्लाका उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएको लामा समुदायले भने महिनावारीलाई नियमित तर सामान्य प्रक्रियाका रूपमा मात्रै लिने गर्छ । जिल्लाको नाम्खा गाउँपालिकामा १ देखि ५ वडासम्म सबैमा लामा समुदायको बसोबास रहेको छ भने सिमकोट गाउँपालिका वडा ३ र ४ मा लामा समुदायको बाक्लो वस्ती रहेको छ ।

लामा समुदायमा महिला महिनावारी हुँदा घर बाहिर बस्ने चलन नभएको सिमकोट–३ की माया लामाले बताइन् ।  लामाले भनिन् – ‘महिनावारी हुँदा हामी सामान्य प्रक्रिया जस्तै ठान्दछौं । जुन समय महिनावारी हुन्छौ त्यतिखेर नै सफा भएर बस्छौं । घर बाहिरै बस्नु परेको छैन । सुत्केरी हुँदा पनि फरक घर नभएर परिवार सँगै बस्ने गर्छौं ।’ 

रासस 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org