ताजा समाचार

थारु समुदायले मनाए माघी

वीरगञ्ज । पर्साका थारु समुदायले माघी पर्वलाई अधिकार प्राप्तीको आन्दोलनको रुपमा मनाएका छन् ।

थारु समुदायका अगुवा नन्द किशोर पञ्जियारले थारु समुदायले वर्षौदेखि उठाउँदै आएका सवालहरुको सम्बोधन नभएकोले पर्वको अवसरमा भेला भएर दवाव दिइएको बताए । ‘सन १९९३ मा नै आईएलओ महासन्धी अनुमोदन भएको हो, तर त्यस अनुसार राज्यले कुनैपनि काम गरेको छैन । त्यसैले बहु उद्देश्य राखेर माघी पर्व मनाएका छौं’ उनले भने ।

ठाउँमा पुगेका थारु अगुवाहरु इमान्दार नभएका कारण थारु समुदायको अधिकार सुनिश्चित नभएको उनको भनाइ छ । थारु संवत २६४३ को अवसरमा वीरगञ्जको आदर्शनगर स्थित स्वीमिङ पुल परिसरमा आयोजना गरिएको माघी महोत्सवमा समेत बोल्ने वक्ताहरुले थारु समुदायको अधिकार सुनिश्चित हुनुपर्नेमा जोड दिए । उनीहरुले थारु समुदायको ईतिहासलाई हेरेर त्यसको उचित सम्मान गर्नुपर्नेमा जोड दिए ।

समृद्ध राष्ट्र तथा समृद्ध समाज निर्माणका लागि सम्पूर्ण थारु एक जुट बनौं भन्ने नाराका साथ आयोजित महोत्सवमा बोल्दै पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवले थारु समुदायको उचित सम्मान हुनुपर्ने बताए ।

‘धन, ईमान, वचत र कर्मको प्रतीकको रुपमा थारु समुदाय छन्, पुरानो सँस्कति परम्परा भएको थारु समुदायको अधिकार प्राप्तीको आन्दोलनमा सबैले साथ दिनुपर्छ ।’ उनले भने ‘ पर्सागढीमा २ सय वर्ष अघि थारु समुदायकै बलमा वृटिश सेनालाई धपाएको ईतिहास छ, सबै मिलेर अघि बढ्नुपर्छ ।’

न्यायाधीश सत्यमोहन चौधरीले कानुनतः अधिकार स्थापित गर्नका लागि अझै संघर्ष आवश्यक रहेकोमा जोड दिए । महोत्सवको अवसरमा रौतहटको शुभलाल भागवत उच्च मावि सन्तपुरका लागि १६ विगाहा जग्गा दिएका जग्गा दाता परिवारका सदस्य एवं व्यवस्थापन समितिका अध्यक्ष अखिलेश्वर चौधरीलगायत पर्सा जिल्लाका विभिन्न विद्यालयमा जग्गा दिएका दाता परिवारका सदस्यहरुलाई समेत सम्मान गरिएको थियो ।

महोत्सवमा थारु संस्कृति झल्कने घाटो, सामा चकेवा, झम्टा, थारु पूर्वी नाचको प्रदर्शनी गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org