ताजा समाचार

ओली र देउवाबीच वाइड बडी प्रकरणलाई ढाकछोप गर्ने सहमति : डा. भट्टराई

काठमाडौँ ।  नयाँ शक्ति पार्टी, नेपालका संयोजक बाबुराम भट्टराईले वाइड बडी विमान खरिद प्रकरणमा सत्तारूढ नेकपा र प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य नेताहरू नै संलग्न रहेको आरोप लगाएका छन्।

पूर्व प्रधानमन्त्री समेत रहेका संयोजक भट्टराईले प्रधानमन्त्री केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको दाबी समेत गरे।

बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले संसदीय समितिले सो विमान खरिदमा ठूलो आर्थिक घोटाला भएको विवरण बाहिर ल्याएपछि प्रधानमन्त्री ओली र प्रमुख प्रतिपक्ष दलका नेता देउवाबीच सो प्रकरणलाई ढाकछोप गर्ने सहमति भएको पनि बताए।

नयाँ शक्ति पार्टी, नेपालले वाइड बडी विमान खरिदमा भएको भ्रष्टाचारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने घोषणा पनि गरेको छ।
संयोजक भट्टराईले सो काण्डमा मुछिएकाहरूलाई कारबाही गर्न आफ्नो पार्टीले सडक र सदन दुवै ठाउँमा संघर्ष गर्ने पनि बताए।

वाइड बडी विमान खरिदमा करिब ४ अर्ब ३५ करोडको भ्रष्टाचार भएको ठहर संघीय संसदको सार्वजनिक लेखा समितिले गरेको थियो। संयोजक भट्टराईले सो काण्डमा भएको भ्रष्टाचारविरूद्धको आन्दोलनमा सहभागी हुन पनि सबैलाई आह्वान गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org