ताजा समाचार

केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति गैर-जिम्मेवार : प्रकाशचन्द्र लोहनी

काठमाडौँ ।  एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष प्रकाशचन्द्र लोहनीले अनशनरत डाक्टर गोविन्द केसीसँग गरेको सहमतिबारे प्रधानमन्त्री केपी शर्मा ओलीले गैर‍-जिम्मेवार अभिव्यक्ति दिएको आरोप लगाएका छन्।

अध्यक्ष लोहनीले प्रधानमन्त्री आफैंले ‘सहमति गरेर कार्यान्वयन गर्ने समयमा संसदमा गइसकेको छ मेरो केही जिम्मेवारी छैन’ भन्नु गलत भएको टिप्पणी गरे।

शनिबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लोहनीले प्रतिवद्धता जाहेर गर्दा हस्ताक्षर गर्ने अनि कार्यान्वयन नगर्ने भन्दै कसको स्वार्थका लागि यो सरकारले काम गरिरहेको छ ? भनि प्रश्न गरे।

दुई तिहाइको सरकारले आफ्नो एजेण्डालाई संसदबाट पास नगराउनु दु:खद भएको बताए।

सरकारले सहमति गरेकाले डाक्टर केसीको माग सम्बोधनको विषय सरकारी एजेण्डा नै बनिसकेको भन्दै उनले कुनै पनि अवस्थामा कार्यान्वयन हुनुपर्नेमा आफ्नो पार्टी रहेको बताए।

उनले वाइड बडी विमान खरिद प्रकरणमा सरकारकै मन्त्रीले संसदलाई ढाट्ने काम गरेको भन्दै संसदको सर्वोच्चता र गरिमालाई आफू अनुकूल व्याख्या नगर्न पनि सरकारलाई चेतावनी दिए।

डाक्टर लोहनीले दुई तिहाइको नाममा भ्रष्टाचारको दलदलमा फसेको सरकार अनैतिकता र दलाल पुँजीवादतर्फ उन्मुख भएको भन्दै यस्तै अवस्था रहिरहे अन्तर्राष्ट्रिय वित्तीय क्षेत्रमा नेपाल कालो सूचीमा पर्ने दाबी गरे।

उनले निर्मला पन्तको हत्या पछिको बलात्कार घटनाका प्रमाण नष्ट गर्ने र अपराधमा संलग्नलाई तत्काल कारबाही गर्न माग गरे।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org