ताजा समाचार

मेलम्ची ठेक्का रद्द प्रक्रिया सुरु

काठमाडौं   । असुरक्षाको कारण देखाउँदै काममा फर्कन नमानेपछि सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्दको प्रक्रिया सुरु गरेको छ । मेलम्ची खानेपानी बोर्डले आइतबार ठेकेदारलाई १४ दिने सूचना जारी गरेको छ ।

सरकार र ठेकेदारबीच भएको ठेक्का सम्झौताको दफा १५.२ अनुसार ठेक्का रद्द गर्नुअघि १४ दिने सूचना दिनुपर्छ । यही प्रावधानलाई टेकेर मेलम्ची खानेपानी बोर्डले आइतबार उक्त सूचना जारी गर्ने निर्णय गरेको हो ।

आयोजना स्रोतका अनुसार ठेकेदारलाई पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि ‘बाध्य भएर’ ठेक्का रद्द गर्ने प्रक्रिया सुरु गर्नुपरेको हो । ‘१४ दिनसम्म पनि ठेकेदार सम्पर्कमा आएन भने स्वतः ठेक्का रद्द हुनेछ,’ आयोजना स्रोतले अन्नपूर्णसित भन्यो ।

उता ठेकेदारले सरकारी कर्मचारीले आफूहरुलाई बन्दी बनाउने, धरपकड गर्ने, राहदानी जफत गर्ने लगायतका काम कारबाही गरेकाले असुरक्षित भएको महसुुस गर्दै सरकारलाई वार्ता गर्न अघिल्लो साता लण्डनमा बोलाएको थियो ।

सरकार लण्डन गएन । लण्डन प्रस्तावउपर उसले कुनै कारबाही नगरी मौन बस्दै आएको थियो । ठेकेदारले आफूले पाउनु पर्ने ३६ करोड रुपैयाँ सरकारले नदिएका कारण देखाउँदै गत पुस २ गते एकतर्फी ठेक्का रद्द गरेको थियो ।

सरकारले नयाँ ठेकेदार नियुक्ती गरी मेलम्ची काम सुरु गरेमा अर्काे तीन वर्षमा आयोजना पूरा हुनेछ । सरकारले यही माघ २७ गते मेलम्चीको पानी काठमाडौं उपत्यकामा ल्याउने उद्घोष गर्दै आएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org