ताजा समाचार

पुस्तक समीक्षा : अठोट भित्रका अठोटहरू

सरस पाण्डे/विशेष रूपमा बालबालिकाका लागि भनेर तयार पारिएको पुस्तक ‘अठोट’ बालबालिका मात्र नभई सबैलाई उपयोगी छ । पुस्तक अुनसन्धानात्मक रहको छ ।   पुस्तक मनमा उब्जेका भावनाहरू समेटिएर लेखिएका पुस्तकहरू भन्दा कयौँ गुणा राम्रो छ । सरल र सहज ढंगले लेखिएको पुस्तकभित्र भएका शीर्षकहरू आकर्षक छन् ।

पुस्तकमा सबै शीर्षक उत्तिकै महत्त्वपूर्ण र चाख लाग्दा छन् । प्रत्येक शीर्षकबाट फरक–फरक शिक्षा प्राप्त गर्न सकिन्छ । अझै भन्ने हो भने जसले पढ्छ उसले जीवन चिन्छ । आफू  कस्तो बन्ने भनेर अठोट गर्न सक्छ । यो पुस्तक पढ्दै गर्दा लाग्यो सायद म अहिले स्कुल पढ्दै थिएँ भने कस्ता अठोट गर्थेँ होला । बालबालिका काँचो माटो हुन् । उनीहरूलाई जस्तो चाह्यो उस्तै आकारमा ढाल्न सकिन्छ । यो पुस्तक पाएका बालबालिको आकारमा अवश्य परिवर्तन आउँछ । अठोटले असल बन्ने उत्प्रेरणा दिन्छ ।

खुसी

सफल जीवनको आधार खुसी हो । खुसीकोे साँचो अरूसँग नभई आफैसँग हुन्छ । जीवनमा हामीसँग दुई विकल्प छन्– दुःखी या खुसी हुने । त्यो निर्णय आफूले गर्नुपर्दछ ।

प्राथमिकता

जीवनलाई सहज ढंगले अघि बनाउन कुन विषयलाई बढी र घटी प्राथमिकता दिने भन्ने आफूले निर्धारण गर्नुपर्दछ । महत्त्वपूर्ण र अत्यावश्यक विषयलाई प्राथमिकता नदिए सोचेजस्तो उपलब्धि हाँसिल गर्न सकिन्न ।

नभनौँ भोलि

जीवनमा एक सेकेण्डको महत्त्व कति हुन्छ भनेर दुर्घटनाबाट जोगिएको व्यक्तिलाई हेर्नुपर्छ । समयलाई चिन्न नसकिएमा कहिल्यै सफल बन्न सकिँदैन । संसारमा धेरै चिज फिर्ता गर्न सकिन्छ तर समय फिर्ता गर्न सकिन्न । आज गर्नुपर्ने काम भोलि भनेर बसियो भने त्यो भोलि भेट्न असम्भव छ, त्यसकारण नभनौँ भोलि ।

स्मरणशक्ति

रूपले मानिसलाई क्षणिक आकर्षणको माध्यम बनाउला तर मस्तिष्कले मानिसलाई स्थायीरूपमा संसारभर चिनाउँछ । मस्तिष्कको शक्तिद्वारा जीवनमा चमत्कारपूर्ण कार्य गर्न सकिन्छ, जसले मानिसलाई जीवनपर्यन्त पनि अमर बनाउँछ । स्मरणशक्ति बढाउन मस्तिष्कलाई सक्रिय राख्नुपर्दछ । राम्रा र जीवनोपयोगी विषयमा चासो दिनुपर्दछ । आफूलाई उत्कृष्ट बनाउन ज्ञानका नयाँ सीपहरू अपनाउनु पर्दछ । मानसिक तनावबाट मुक्त भई स्वस्थ जीवनशैली अपनाएमा स्मरणशक्ति बढ्छ ।

नो जङ्क

बालबालिकाले घरको भन्दा बाहिरका बजारिया खानेकुरा मात्र  खान खोज्नु हिजोआजको मुख्य समस्या बनेको छ । जुन खानेकुराले उनीहरूको आत्मबल घटाउने, स्मरणशक्ति कमजोर बनाउने, डिप्रेसनको सम्भावना बढाउने जस्ता हरेक क्रियाकलापहरूमा प्रभावित पारिकेका छन् । बेलैमा अभिभावकले आफ्ना बालबच्चाले खाने जङ्कफुडजस्ता दीर्घकालिन असर पर्न सक्छ ।

नपरौँ भर

आफैंले गर्न सक्ने कामहरूमा अरूका भर पर्न थालियो भने जीवन सार्थक बन्दैन । आफ्नो काम आफैं गर्ने बानीले आत्मविश्वास बढाउँछ । आत्मविश्वासले आत्मनिर्भर बन्न सघाउँछ । आत्मनिर्भर बन्न सकेमा जीवन उपलब्धीपूर्ण बन्छ, त्यसैले  भर पर्ने बानी हटाउनु राम्रो हुन्छ ।

आनीबानी

कुनै पनि व्यक्तिको आनीबानीले उसको चरित्र निर्धारण गर्छ । राम्रो आनीबानी भएका मानिसहरू असल चरित्रका हुन्छन् । नराम्रो आनीबानी भएका मानिसहरू खराब चरित्रका हुन्छन् । कलिलो बिरूवा उखेल्न गाह्रो हुन्न तर त्यही बिरूवा ठूलो भएर जरा हालिसकेपछि उखेल्न मुस्किल हुन्छ । सुरुमा आफ्ना खराब आदत हटाउन सक्यो भने हट्छ तर त्यही आदतको बानी पर्यो भने जीवनभर त्यही बानी बस्छ र खराब आदतले अमूल्य जीवन ध्वस्त बन्छ ।

नरिसाऊ ल !

रिसले आफंैलाई बर्बाद गर्छ । हरेक मानिससँग माया, दया, रिस, द्वेष, अहंकारजस्ता संवेग रहेका हुन्छन् । राम्रा संवेगले सफल बनाउन मदत गर्छ तर नराम्रा संवेगले जीवन असफल बनाउँछ ।

आत्मविश्वास

एक व्यक्तिसँग भएको क्षमता अर्को व्यक्तिसँग नहुन सक्छ । संसारका हरेक व्यक्तिसँग हरेक भिन्न भिन्न क्षमता रहेका हुन्छन् । आफूमा भएको क्षमतालाई आत्मविश्वासकासाथ प्रस्तुत गर्ने मानिसले नै सफलता हात पार्न सक्छ । आफ्नो भर, विश्वास भएको मानिसले मात्र म केही गर्न सक्छु भन्ने चाहना राख्दछ । आत्मविश्वास बढाउन डर हटाउनु पर्छ । मनको डर हटाएर अघि बढ्ने प्रयत्नले आत्मविश्वास बढाउँछ र जीवन सुखमय बन्छ ।

सिकाइ शैली

पढ्ने, बझ्ने र सिक्ने क्षमता सबैको एउटै हुँदैन । कोही एकान्तमा पढ्न रमाउछन् भने कोही समूहमा सिक्न मन पराउँछन् । अर्काको सिक्नेशैली अपनाउनेले भन्दा आफ्नो सिकाइशैलीलाई महत्त्व दिनेले जीवनमा धेरै प्रगती गर्न सक्छ । आफ्नो जीवनको लक्ष्य हाँसिल गर्न आफ्नै मौलिक शैली अपनाउनु उत्तम हुन्छ ।

परीक्षा

जीवन परीक्षाको संगालो हो । जसले परीक्षा पास गर्न सक्छ उसले भविष्य सुन्दर बनाउँछ । बालबालिकाहरूले विद्यालयमा परीक्षा दिंदा आफ्नै मौलिक उत्तर दिएमा उत्कृष्ट नतिजा प्राप्त गर्न सक्छन्, जुन नतिजाले माथिल्लो तहमा जानको लागि सहयोग गर्छ । जसले परीक्षालाई जीवनसँग तुलना गरेर अध्ययन गर्छ ऊ मात्र आफ्ना जीवनका हरेक समस्यासँग जुधेर अघि बढ्न सक्छ ।

आबुई !

कुनै सामान्य डरलाग्ने परिस्थितिबाट आबुई ! भन्दै भाग्ने भन्दा त्यसको सामना गर्न अघि सर्नेले जीवनमा आउने जस्तै अप्ठ्यारा परिस्थितिसँग पनि जुधेर सफल बन्न सक्छ । जुन कुरामा लाग्ने डरले सकारात्मक प्रभाव पार्छ  त्यस कुरामा जराउनु उपयुक्त हुन्छ तर हरेक कुरामा अघि बढ्न डराउने कायरले जीवनमा सफलता प्राप्त गर्न सक्दैन ।

पढ्न मन लाग्दैन ?

बालबालिकाहरूले पढ्न मन नलाग्ने बानी हटाउनको लागि पढ्ने तरिका परिवर्तन गर्नुपर्छ । पढाइलाई कामको रूपमा भन्दा जीवनोपयोगी रूपमा लिनुपर्छ । अहिलेको डिजिटल युगले हरेक मानिसका पढ्ने बानी हट्दै गइरहेका छन् । मोवाइल, ल्यापटपलाई जीवनको अभिङ्गको रूपमा लिएका छन्, जसको प्रयोगले जीवनलाई चाहेअनुसार परिवर्तन गर्न सकिन्छ । सकारात्मक तरिकाले संचारका साधन प्रयोग गरियो भने जीवनमा प्रगति गर्न सकिन्छ तर नकारात्मक तरिकाले प्रयोग गर्न थालियो भने लक्ष्यमा पुग्न सकिदैन । त्यसकारण आफ्नो जीवनको मूल्य बुझेर पढ्नमा मन लगाएमा अवश्य प्रगतिको शिखरमा पुग्न सकिन्छ ।

लत लाग्ला कि ?

लत त्यस्तो चिज हो जसले मानिसलाई सफल र असफल बनाउने मार्ग देखाउँछ । राम्रो कुराको लतले सफलता दिलाउँछ, नराम्रो कुराको लतले असफलता दिलाउँछ । सानै उमेरदेखि कुनै कुरामा लत बस्छ भने त्यो बानीमा परिणत हुन्छ । चोर्ने बानीले चोर बनाउँछ भने सहयोगी बानीले सहयोगी नै बनाउँछ । त्यस्तै आजकालका बालबालिकाहरूमा मोवाइल, ल्यापटप जस्ता डिजीटल कुराहरूमा लत बसेको छ, जुन कुराले धेरैको मस्तिष्कलाई एकोहोरो बनाएको छ । मानिस सामाजिक प्राणी हो । ऊ समाजमा घुलमिल हुन सकेन भने उसको जीवन सुन्दर बन्दैन । सामाजिक सञ्जालको धेरै प्रयोगले नजिकको आफन्तसँग बोल्न बिर्साएको छ । जीवन सुन्दर बनाउन नराम्रा लत त्यागी राम्रा कुरामा लत बसाउनु पर्छ ।

कस्तो साथी ?

साथी सबैका लागि महत्त्वपूर्ण हुन्छन् । घरपरिवारमा भन्न नसकेका कुरा साथीलाई भनिन्छ । त्यसैले साथी बनाउँदा सजग बन्नुपर्छ । हरेक प्रकारका साथी हुन्छन्, कोही धेरै मिल्ने र सहयोगी भावना भएका, कोही मिलेजस्तो गर्ने र पछाडिबाट कुरा काट्ने, कोही खुट्टा तान्ने, कोही हेप्ने,कोही ‘हाइहेलो’ मात्र गर्ने । यस्ता विविध विशेषता भएका साथीहरू हुन्छन् । आफूसँग मिल्ने र  मनदेखि सहयोग गर्नेलाई साथी बनाउनुपर्छ । मिलेजस्तो गरेर खुट्टा तान्ने साथीहरूबाट टाढै बस्नु उचित हुन्छ ।

फरक छुट्याऔँ

हरेक व्यक्तिका विचार फरक हुन्छन् । हामी पनि कहिलेकाहिँ कुनै कुरालाई फरक तरिकाले बुझिरहेका हुन्छौँ । कुन कुरालाई राम्रो मान्ने कुन कुरालाई नराम्रो, के गर्ने वा के नगर्ने, यस्ता हरेक कुराहरूमा दुईवटा पक्ष रहेका हुन्छन् । साँच्चै नै सफल बन्ने हो भने असल पक्ष के हो ? खराब पक्ष को हो ? फरक छुट्याउन जान्नुपर्छ ।

फरक शिक्षा

शिक्षा यस्तो होस् जसले वास्तविक जीवनलाई चिनाओस् । सधैँ उही शिक्षा, ग्रेड र प्रतिशतले मात्र हरेक बालबालिकाका क्षमताको लेखाजोखा गर्नाले सबैलाई नभए पनि केहीलाई अन्याय हुनसक्छ । शिक्षामा फरक तरीका अपनाउनु पर्छ । एउटा बालकसँग एउटा क्षमता हुन्छ भने अर्को सँग त्यो बालकको भन्दा फरक क्षमता हुनसक्छ । बालबालिकाले आफ्नो क्षमता, रूचि अनुसारको शिक्षा प्राप्त गर्न पाए भने उनीहरूको जीवन फूल जस्तै बन्न सक्छ ।

अठोट

कुनै अठोट राखेर काम गर्न थालियो भने अवश्य त्यो अठोट अनुसारको सफलता हात परेरै छोड्छ । चोर्ने अठोट बोकेको व्यक्तिले चोरेरै छोड्छ । सफल बन्ने अठोट बोकेको व्यक्तिले लक्ष्य हाँसिल गरेरै छोड्छ । असल बन्ने अठोटले मानिसको जीवनलाई सरल बनाउँछ र सरल जीवन नै सफल बन्न सक्छ । जीवन सुख र दुस्खको संयोजन हो । सुखमा मात्तिने र दुःखमा आत्तिनाले अठोट पूरा नहुन सक्छ । दुःखमा मानिसले पछि हट्ने, पराजित बन्ने र अझै दह्रो बन्ने मध्ये एक कुरा रोज्छन् । यी तीन मध्ये जसले अझै दह्रो बन्ने अठोच गर्छ, उसको जीवन सफल बन्छ ।

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org