ताजा समाचार

यसरी मनाइयो ६९ राष्ट्रिय प्रजातन्त्र दिवस (फोटोहरु)

काठमाडौं ।

६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस विभिनन कार्यक्रम गरि मनाइएको छ । दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना गरिएको प्रजातन्त्र दिवस मूल समारोहमा राष्ट्रपतिको पनि उपस्थिति रहेको थियो । नेपाली जनताको बलिदानीपूर्ण सङ्घर्षबाट निरङ्कुश राणा शासनको अन्त्य र प्रजातन्त्रको थालनी भएको स्मरणमा हरेक वर्ष फागुन ७ गतेका दिन राष्ट्रिय प्रजातन्त्र दिवसको रूपमा मनाउने गरिन्छ ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री एवं राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ मूल समारोह समितिका अध्यक्ष केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणा, सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए ।

सो अवसरमा उपप्रधानमन्त्री, मन्त्रिगण, संवैधानिक नियोगका प्रमुख, नेपाल सरकारका उच्चपदस्थ अधिकृत एवं कूटनीतिक नियोगका प्रमुखको उपस्थिति थियो । सो अवसरमा नेपाली सेनाको हेलिकोप्टरबाट ६९औँ राष्ट्रिय प्रजातन्त्र दिवस २०७५ अङ्कित ब्यानर प्रदर्शन, पुष्पवृष्टि गरिएको थियो । समारोहमा बेलुन र परेवासमेत उडाइएको थियो । 
त्यस अवसरमा ज्ञात–अज्ञात शहीदहरूप्रति उच्च सम्मान र श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिरशान्तिका लागि एक मिनेट मौन धारण गरिएको थियो । समारोहमा राष्ट्रिय गान प्रस्तुत गरिनुका साथै नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल स्काउटलगायतका सङ्घ संस्थाबाट मार्चपास गरिएको थियो । 
समारोहमा काठमाडौँ र ललितपुर महानगरपालिका, भक्तपुर, मध्यपुर, थिमि, कीर्तिपुरद्वारा आ–आफ्नो क्षेत्रका विविध सांस्कृतिक झलकसहितका झाँकी प्रस्तुत गरिएको थियो । 
कार्यक्रममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलद्वारा राष्ट्रिय गीतका धुनहरुसहितको साङ्गीतिक धुन प्रस्तुत गरिएको थियो । प्रजातन्त्र दिवसको कार्यक्रम हेर्न टुँडिखेल वरपर सर्वसाधारणको भीड लागेको थियो । उक्त समारोहको नेपाल टेलिभिजन र रेडियो नेपाललगायत विभिन्न विद्युतीय सञ्चार माध्यमले प्रत्यक्ष प्रसारण गरेका थिए । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org