ताजा समाचार

औद्योगिक क्षेत्रका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र

भीमदत्तनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका विषयमा ज्ञापनपत्र बुझाएको छ ।

सुदूरपश्चिम प्रदेशसभामा सम्बोधन गर्न धनगढी पुग्नुभएका प्रधानमन्त्री ओलीलाई नगरपालिकाका प्रमुख अशोककुमार चन्दसहितको टोलीले यहाँको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाको काममा ढिलाइ भइरहेको भन्दै ज्ञापनपत्र बुझाएको हो । विसं २०५२ मा सरकारले घोषणा गरेको भए पनि हाल विविध सरकारी प्रक्रियाका कारण वन मन्त्रालयमा फाइल अड्किएको छ ।

छेला औद्योगिक क्षेत्रको कार्यप्रगतिबारे पनि प्रधानमन्त्रीलाई जानकारी गराइएको नगरप्रमुख अशोककुमार चन्दले बताए । ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री ओलीले वन तथा वातावरणमन्त्रीसँग छलफल गरेर छेला औद्योगिक क्षेत्रको काम यथाशीघ्र सञ्चालनका लागि पहल गर्ने आश्वासन दिएको नगरप्रमुख चन्दले बताए ।

सुदूरपश्चिमको गौरवको योजना र रोजगारीको मुख्य सम्भावना रहेको दैजी छेला औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्बाट पटक–पटक निर्णय भइसकेको भए पनि वन विभागमा औद्योगिक क्षेत्रको काम रोकिएको छ ।

औद्योगिक क्षेत्र स्थापनाका लागि चालू आवमा सुदूरपश्चिम प्रदेश सरकारले रु ५० लाख बजेट विनियोजन गरेको छ । करीब नौ सय बिघा जग्गा कायम गरिएको दैजी छेला औद्योगिक क्षेत्रको ‘इआए’ तथा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण भइसकेको छ । इआए, डिपीआर प्रतिवेदन वन तथा वातावरण मन्त्रालयमा रहेको छ, तर मन्त्रालयले काम अगाडि नबढाइदिँदा औद्योगिक क्षेत्रको स्थापनामा ढिलाइ भएको नगरपालिकाले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org