ताजा समाचार

वन्यजन्तुबाट जोगाउन रातभरि शव कुर्नु पर्ने

ताप्लेजुङ – ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सातजनाको निधन भयो । त्यही दिन सबै शव सुकेटार विमानस्थल ल्याउन सकिएन । रातभरि रुँघेर राखेको तीनवटा शव बिहीबार बिहान सुरक्षाकर्मीले दुर्घटनास्थलबाट हेलिकप्टरमा उठाइदिए ।

शव र दुईजना सेनालाई डोरीमा झुन्ड्याएर हेलिकप्टर सुकेटार विमानस्थल उडेलगत्तै हिमपात सुरु भयो । खुला आकाशमुनि हिउँमा रात कटाएको उद्धार टोलीलाई कसरी फर्कने भन्ने समस्या भयो । ‘मौसम एकैछिन खुलेको बेला शव पठाउन सफल भयौं,’ उद्धारमा खटिएका ताप्लेजुङ प्रहरी प्रमुख डिएसपी सञ्जयसिंह थापाले भने, ‘लगत्तै वर्षा र हिउँ पर्न थालेकाले फर्कन समस्या भयो ।’ दुर्घटनास्थल पाथीभरा क्षेत्रको फेदीबाट करिब एक किलोमिटर दूरीमा पर्छ । कडा चट्टानी पहाड छिचोल्दै दुर्घटनास्थल पुग्न अत्यन्तै कठिन छ । यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ  ।

अघिल्लो दिन राति कम हिउँ भएकाले स्थानीय र सुरक्षाकर्मीको टोली पहराको बीचमा धुवाँ आएको ठाउँ पहिल्याउँदै त्यहाँसम्म पुगेका थिए । चार शव उठाउन सघाएर उनीहरु फर्किए । राति सुरक्षाकर्मी मात्रै बसे । ‘तीन ठाउँमा आगो फुकेर वरिपरि बस्यौं,’ सशस्त्र प्रहरी निरीक्षक युगहाङ पतङ्वाले भने, ‘चिसोले बिरामी परिन्छ कि भन्ने डर थियो । तर कसैलाई केही भएन ।’ उनका अनुसार वन्यजन्तुबाट जोगाउन पनि शव रुँघेर बस्नैपर्ने बाध्यता थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org