ताजा समाचार

सिके राउतको राजनीतिको बाटो अब कता ?

काठमाडाैं । सरकारले पटकपटक उनलाई राज्यद्रोहको अभियोगमा समात्यो, थुन्यो । विखण्डनको आरोपमा अनेकपटक धरपकड ग-यो । मधेसलाई छुट्टै देश बनाउने राजनीतिक अभियान चलाइरहेका सिके राउतको छवि समाजमा क्रुर अपराधीको जस्तो बन्दै/बनाइँदै थियो । उता उनी आफै चाहिँ स्वतन्त्र मधेसको सपना देखिरहेका थिए । र, त्यसैका लागि खटिरहेका थिए ।

शुक्रबार अप्रत्यासित लाग्ने गरी सरकार र राउतबीच भएको ११ बुँदे सहमतिले राउतको राजनीतिक महत्वाकांक्षालाई बल पु-याएको विश्लेषण हुन थालेको छ । बेग्लै देश बनाउन हिँडेका राउतले मूलधारको प्रतिस्पर्धामा आउन तयार भएको घोषणा त गरे । तर, त्यसको दुई दिन पनि नबित्दै स्वतन्त्र मधेसकै नारासहितको प्रदर्शनमा सहभागी भए । सहमति सभामै उनले प्रधानमन्त्रीकै सामुन्ने मधेसमा जनमतसंग्रह हुने दाबी समेत गरे ।

राउत अब सरकारले भने झैँ मूलधारमा आउलान् वा पुरानै एजेन्डामा अघि बढ्लान् ? राउतको सार्वजनिक छवि अविश्वसनीय भएकाले अनुमान गर्न कठिन हुने राजनीतिक विश्लेषक चन्द्रकिशोर बताउँछन् । ‘उनी कुन बाटो हिड्छन् भन्ने यकिन गर्न अझै केही दिन उनका गतिविधि हेर्नुपर्छ । घटनाक्रमले भने उनले सहमतिलाई उपयोग गर्न खोजेको देखिन्छ ।’

विष्लेषक भाष्कर गौतम भने जुनसुकै राजनीतिक सहमतिको आफूअनुकुल व्याख्या हुनु स्वभाविक भए पनि जनमत संग्रहको कुरा विस्तारै सेलाउँदै जाने बताउँछन् । ‘विगतमा पनि सरकारले धेरै सहमति गरेको छ र ती सम्झौतालाई दुवै पक्षले आआफ्नै हिसाबले व्याख्या गर्ने गरेका थिए,’ गौतम भन्छन्, ‘तर ती सबै सहमति कार्यान्वयन त भएनन् । जनमत संग्रहको मुद्दा पनि यसै गरी बिर्सिइन्छ ।’ यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

मधेसी राजनीतिमा राउतको बाटो

राउतसँग पुरानै एजेन्डामा कायम रहने, नयाँ पार्टी खोल्ने वा राष्ट्रिय पार्टीमा प्रवेश गर्ने तीन विकल्प रहेको चन्द्रकिशोर विश्लेषण गर्छन् । उनका अनुसार राउतले मधेशमा पाएको समर्थन पाएका छन्, त्यो राज्यसत्ता र संघीय समाजवादी फोरम र राजपा लगायतका मधेशवादी दलसँग असन्तुष्टीको मत हो । यही असन्तुष्टीको जगमा उनको राजनीति टिकेको हो । आफ्नो एजेन्डा छोडेपछि असन्तुष्टीको जनमत उनीसँग नरहने उनी बताउँछन् । तेस्रो विकल्पका रुपमा राउत नेकपा प्रवेश गर्न सक्ने पनि उनको भनाइ छ । विश्लेषक गौतम पनि राउत नेकपा प्रवेश गर्ने सम्भावना सकार्छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org