ताजा समाचार

लगानी सम्मेलनमा ६ हजार बढि सुरक्षाकर्मी परिचालन हुने

चैत्र १४, काठमाडाैं । लगानी सम्मेलनको सुरक्षा व्यवस्था मद्यनजर गर्दै सरकारले ६ हजार बढि सुरक्षाकर्मी परिचालन गर्ने भएको छ ।

विप्लव नेतृत्वको नेकपासँग सरकारको टकराव बढेपछि सुरक्षा खतरा झनै बढेर गएको सुरक्षा संयन्त्रको ब्रिफिङ अनुसार सरकारले सुरक्षाकर्मी तैनाथ पार्न यो निर्णय गरेको हो ।

गृह मन्त्रालयले लगानी सम्मेलन (नेपाल इन्भेस्टमेन्ट समिट–२०१९) सुरक्षामा करिब ६ हजार सुरक्षाकर्मी तैनाथ गरेको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल (एपिएफ) र राष्ट्रिय अनुसन्धान विभागबाट ६ हजारभन्दा बढी जनशक्ति तैनाथ गरिएको गृह मन्त्रालयले जनाएको छ ।

चैत १५ गते सुरु हुने दुईदिने लगानी सम्मेलनमा ३१ मुलुकका ६ सय ९ जना विशिष्ट अधिकारी तथा उद्योगपति आउने तय भएको छ। सम्मेलन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ ।

प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीका अनुसार सम्मेलनमा नेपाल प्रहरीबाट ४ हजार २ सय जनशक्ति परिचालन गरिएको छ । प्रहरी प्रधान कार्यालयले महानगरीय प्रहरी कार्यालय रानीपोखरीमार्फत जनशक्ति तैनाथ गरेको हो ।

यसैगरी सशस्त्र प्रहरी मुख्यालयले उपत्यका बाहिनीमार्फत एसएसपीको कमान्डमा सम्मेलन सुरक्षार्थ जनशक्ति खटाएको छ। सशस्त्र प्रहरी प्रवक्ता डिआइजी सुरज श्रेष्ठले एसएसपी कालीदास धौवजीको नेतृत्वमा एक हजार ८ सय जनशक्ति सम्मेलन सुरक्षामा खटाइएको जानकारी दिए।  राष्ट्रिय अनुसन्धान विभागले २ सयभन्दा बढी जनशक्ति तैनाथ गरेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org