ताजा समाचार

नेपाल–बङ्गलादेश ऊर्जा साझेदारी

काठमाडौं ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपाल र बङ्गलादेशबीच द्विपक्षीय र बहुपक्षीय स्तरमा ऊर्जा क्षेत्रमा साझेदारी रहेको बताए ।

बङ्गलादेशी राजदूतावासले आज राजधानीमा आयोजना गरेको नेपाल–बङ्गलादेश व्यापार मञ्चको बैठकमा उनले सन् १९७२ मा नेपाल र बङ्गलादेशबीच कूटनीतिक सम्बन्ध कायम भएयता द्विपक्षीय सम्बन्ध अझ सुदृढ बन्दै गएको बताए ।

हार्दिकता, सद्भाव, आपसी समझदारी र सहयोगमा आधारित नेपाल–बङ्गलादेश सम्बन्ध राजनीतिक, आर्थिक, पर्यटन र शैक्षिक क्षेत्रमा समेत विस्तार भएको चर्चा गर्दै मन्त्री पुनले दुई देशबीच पछिल्ला दिनमा ऊर्जा सहायता र साझेदारीका कार्यक्रम पनि भइरहेका बताए ।

ऊर्जा क्षेत्रमा भएको नेपाल र बङ्गलादेशबीचको साझेदारी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता बहुपक्षीय मञ्चमा पनि सहकार्य भइरहेको बताए । “ऊर्जा व्यापार प्रवद्र्धन एवं विस्तारका लागि उपक्षेत्रीय एवम् क्षेत्रीय स्तरमा पनि दुई देशबीच साझेदारी भएको छ,” उनले भने ।

नेपालका लागि बङ्गालदेशका राजदूत मास्फी विन्ते शाम्सले बङ्गलादेश र नेपाल आर्थिक विकासको बाटोमा अग्रसर भएको वर्तमान अवस्थामा एकअर्काका विज्ञता, अनुभव र सीप आदानप्रदान हुन जरुरी भएको बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org