ताजा समाचार

डेढ महिनादेखि हुम्ली यात्रु अलपत्र, विमान कम्पनी यात्रु होइन कार्गो बोक्छन् !

सुर्खेत । राष्ट्रिय सडक सञ्जालमा नजोडिएको नेपालको एकमात्र जिल्ला हुम्लाका नागरिकले अनियमित हवाई उडानका कारण पटकपटक सास्ती खेप्दै आइरहेका छन् ।

यसपटक पनि हुम्लाका दर्जनौँ नागरिक सुर्खेत विमानस्थलमा थन्किनु परेको छ । बिरामी तथा विभिन्न कामले सुर्खेत झरेका १४० भन्दा बढी हुम्ली नागरिक हप्ताैँ दिनदेखि जान नपाएको यात्रु छवि थापाले गुनासो गरे । “विमानस्थलमा हामी सामान्य मान्छेले छिर्नै पाउँदैनौँ,” थापाले भने, “टर्मिनल हलमा ठूलाबडाकै हालीमुहाली हुन्छ ।”

यात्रु केन्द्रराज शाहीले विमानस्थलमा सर्वसाधारणले टिकट नै नपाउने गरेको दुखेसो गरे । दलालले मात्रभित्र प्रवेश पाउने गरेको आरोप लगाउँदै शाहीले भने, “एयरलायन्स नागरिकप्रति सेवा भाव नै देखाउँदैनन् । उनीहरु आफ्नो नाफाको आँखाबाट मात्र हेर्छन् ।” यात्रु भन्दा कार्गो लिँदा दोब्बर फाइदा हुने भएकाले उनीहरुले यात्रुलाई नलिने गरेको उनको आरोप छ ।

हुम्ली सेवा समाजका अध्यक्ष कलबहादुर लामाले यात्रुलाई प्राथमिकतामा राखेर काम गर्न एयरलायन्स सञ्चालकलाई दबाब दिँदै आएको बताए । “डेढ महीनादेखि यात्रु जान पाएका छैनन्”, उनले भने, “हामीले तारा, सीता र समिट एयरलायन्सका सञ्चालकलाई हप्तामा एक÷एक फ्लाइट राख्न अनुरोध गरेका छौँ ।”

हवाइजहाज यातायातको एकमात्र विकल्प भएको हुम्लामा हरेक सामान उडानबाटै लैजानुपर्ने भएकाले यात्रु आवतजावतमा समस्या भएको अध्यक्ष लामाको भनाइ थियो । विमानस्थलमा प्रहरीले पनि यात्रुप्रति अभद्र व्यवहार गर्दै आएको यात्रुले गुनासो गरेका छन् । विकट भूगोलका नागरिक अलपत्र पर्दा पनि राज्य बेखबर रहेको भन्दै उनीहरुले रोष प्रकट गरेका छन् ।

यता तारा एयरलायन्सका नेपालगञ्ज प्रमुख दिलीप कार्कीले हवाइजहाज अभावका कारण यो समस्या आएको बताए । “जहाजको माग बढ्दो छ तर पूर्ति गर्न गाह्रो छ”, प्रमुख कार्कीले भने, “हप्ताको एउटा कार्गो पनि गर्न सकिएको छैन । लुक्ला खुलेकाले पनि अभाव बढेको हो ।”

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org