ताजा समाचार

नेपाली आकाशमा दैनिक ५/१० मिनेट रहने गरि पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ बिहिबार लन्च हुँदै

काठमाडौं । नेपालको पहिलो भू-उपग्रह ‘नेपाली स्याट-१’ अमेरिकाबाट लन्च हुने भएको छ ।

नयाँ वर्षको आगमनसँगै नेपालले प्रविधिमा नयाँ फड्को मार्ने कोसिस गरिरहेको सन्देश दिने भू-उपग्रह बिहिबार (वैशाख ५ गते) नेपाली समय अनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च हुन लागेको हो ।

नास्टका प्रविधि विभाग प्रमुख रवीन्द्र ढकालका अनुसार, अमेरिकाको भर्जिनिया राज्यस्थित नासाको ‘मिड–एटलान्टिक स्पेसपोर्ट लन्च प्याड’ बाट स्याटेलाइट प्रक्षेपण हुनेछ । भू–उपग्रहलाई अन्तर्राष्ट्रिय स्पेस स्टेसन (आईएसएस) मा लगिनेछ ।

उपग्रह निर्माणका लागि नेपालका तर्फबाट इलेक्ट्रिकल र कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर गरिरहेका नास्टका प्राविधिक अधिकृत हरिराम श्रेष्ठ र स्पेस टेक्नोलोजी इन्जिनियरिङमा विद्यावारिधि गरिरहेका नेपाली वैज्ञानिक आभाष मास्के खटिएका थिए ।

२०७४ असोज २८ गते अर्थमन्त्रीस्तरीय निर्णयबाट क्युटेकसँग समझदारी भएपछि उपग्रह निर्माण सुरु भएको थियो । पृथ्वीको भूमध्यरेखाबाट ९० डिग्रीको कोण भएर पृथ्वीभन्दा करिब ४ सय किलोमिटरमाथि रहने यो उपग्रह नेपालको आकाशमा दैनिक ५/१० मिनेटसम्म रहने ढकालले बताए ।

नेपालसँगै श्रीलंकाको रावना–१ र जापानको उगिसु भू–उपग्रह पनि प्रक्षेपण गर्ने तालिका छ । अमेरिकी अन्तरिक्ष संस्था नासाले यसको प्रत्यक्ष प्रशारण गर्नेछ ।

‘नेपाली स्याट–१’ नानो भू–उपग्रह हो । लम्बाइ, चौडाइ र उचाइ १०/१० सेन्टिमिटर छ । यसको पहिलो काम तस्बिरहरू खिचेर पठाउनु हो । नानो स्याटेलाइट निर्माणबाट प्राप्त अनुभवलाई ठूला भू–उपग्रहहरू निर्माणमा प्रयोग गर्न सकिने नास्टले जनाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org