ताजा समाचार

रकम उठ्न सके पुसभित्रै गौतमबुद्ध अन्तर्राष्ट्रिय रंगशालामा प्रतियोगिता गर्न सकिन्छ : धुर्मुस

चितवन । रामपुरमा निर्माण गर्न थालिएको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पुसबाट प्रतियोगिता गर्न सकिने गरी कामलाई अघि बढाइएको छ।

धुर्मुस–सुन्तली फाउण्डेशनले माघ १६ गते भरतपुर महानगरपालिकासँग रङ्गशाला निर्माण गर्ने सम्झौता गरेको थियो। फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस)ले आज यहाँ पत्रकारहरूसँग कुराकानी गर्दै रकम उठ्न सकेमा पुस महिनासम्ममा मैदानको काम सम्पन्न गरी खेल खेल्न सकिने बताए।

कामलाई तीव्रता दिन जेठ मसान्तसम्ममा रु ३० करोड आवश्यक पर्ने भन्दै चितवन जिल्लावासी आर्थिक सङ्कलन अभियानमा जुट्नुपर्नेमा जोड दिए।

हालसम्म रु ६ करोड ५० लाख मात्र बोलिएको छ। सबै रकम उठिसकेको छैन। भदौ महिनामा औपचारिक शिलान्यास गर्नका लागि आवश्यक कच्चापदार्थ जम्मा गर्ने काम भइरहेको छ। रङ्गशाला क्षेत्रलाई टिनले बार्ने काम, निर्माण गर्दा आवश्यक पर्ने कार्यालय निर्माण, कर्मचारी आवास गृह, गोदाम घर, सुरक्षाकर्मी घरलगायत आवश्यक संरचना निर्माण भइसकेको उनले बताए। मैदान बनाउनका लागि काठमाडौंका दुई स्थानबाट परीक्षण गरी माटो ल्याइएको छ भने तनहुँबाट पनि माटो ल्याउने तयारी भइरहेको उनले बताए।

मैदानसँगै दुबो रोप्नका लागि ब्याडमा दुबो हुर्काउने काम सुरू गरिएको कट्टेलले बताए।

पहिलो चरणमा मैदान तयार गरी प्याराफिट र अन्य काम अघि बढाउने तयारी गरिएको छ। अन्तर्राष्ट्रियस्तरको र पूर्वअभ्यासका लागि एउटा/एउटा खेलमैदान निर्माण गरिने कट्टेलले बताए।

गुरुयोजना तयार गरी नक्साङ्कनको काम तीव्र गतिमा अघि बढाइएको उनले बताए।

वातावरणीय प्रभाव मूल्यांकनको काम पनि अघि बढाइएको छ। क्रिकेटबाहेक अन्य खेलको विस्तृत अध्ययन प्रतिवेदन अन्तिम चरणमा पुगेको छ भने क्रिकेटको प्रतिवेदन निर्माणको काम भइरहेको कट्टेलले बताए।

कट्टेलका अनुसार आउँदो ३० वर्षपछि हुने प्रविधि अहिले नै प्रयोग गरेर नक्साङ्कनको काम भइरहेको छ। यसका लागि नेपालीसँगै विदेशी विज्ञहरूले पनि काम गरिरहेका छन्।

कट्टेलले आर्थिक सहयोगका लागि देशभर अभियान सुरू हुने क्रममा रहेको बताउँदै कतिपय जिल्लामा सहयोग समिति बनेर रकम सङ्कलन हुन थालेको बताए।

चितवनमा जिल्ला, महानगर, नगर, गाउँपालिका र वडास्तरीय सँगै विभिन्न सरोकारवाला निकायको छुट्टाछुट्टै समिति निर्माण गरी आर्थिक सङ्कलन अभियानलाई तीव्रता दिइने उनले बताए। यससँगै सबै जिल्लामा समिति निर्माण गरी रङ्गशालाको अपनत्व लिने गरी आर्थिक सहयोग अभियानलाई तीव्रता दिइने उनले बताए।

बहुउपोगी रङ्गशला निर्माणमा रु तीन अर्ब लाग्ने धुर्मुस–सुन्तली फाउण्डेशनले जनाएको छ।

अहिले बन्न लागेको रङ्गशालामा ३५ खेल खेलाउन सकिनेछ। त्रिभुवन विश्वविद्यालयको नाममा रामपुरमा रहेको २० बिघा ६ कट्ठा जग्गामा रङ्गशाला निर्माण गर्न लागिएको हो।

रङ्गशालालाई खेलकूद विश्वविद्यालयका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org