ताजा समाचार

पाँचथरमा मकुण्डोधारीद्वारा २ परीवारका ९ जनाको विभत्स हत्या (मृतकहरुको नामसहित)

काठमाडाैँ ।  पाँचथर जिल्ला मिक्लाजुङ गाउँपालिकामा दुई परिवारका नौ जनाको विभत्स हत्या भएको छ। १२, १३ वर्षीया दुई किशोरी घाइते भएका छन्।

घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गत सोमबार राति स्थानीय धनराज शर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो।

मुकुण्डे लगाएर घरभित्र पसेका हतियारधारी समूहका मान्छेले परिवारका सबै सखाप पार्ने गरि धारिलो हतियार प्रयोग गरेर विभत्स हत्या गरेका हुन् ।

हत्यामा मृत्यु हुनेहरुमा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, छ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बू रहेका छन् ।

१२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन्। उनी गम्भीर घाइते छिन्। मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए।

घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो।

घटनास्थलमा दशमीबजारस्थित प्रहरी चौकीको टोली बिहान ६ बजे पुगेको छ। इलाका प्रहरी कार्यालय रवि र जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ पुगिसकेको जानकारी दिदै प्रहरी निरीक्षक अनिलकुमार पौडेलले नौ जनाको हत्या भएको स्थानीयवासी र घटनास्थलमा रहेका प्रहरीले पुष्टि गरेको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय पाँचथरबाट प्रहरी नायब उपरीक्षक नरेन्द्र कुँवर नेतृत्वको टोलीसमेत घटनास्थलमा पुगेको पौडेलले बताए। इलाका प्रहरी कार्यालय रविबाट प्रहरी निरीक्षकको नेतृत्वको टोली घटनास्थलमा पुगिसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org