ताजा समाचार

माटोका नमूना परीक्षण

कञ्चनपुरको भीमदत्त नगरपालिकामा माटोको ६०० नमूना परीक्षण गरिएको छ । माटोका नमूना परीक्षण अभियानअन्तर्गत भीमदत्त नगरपालिकाद्वारा सञ्चालित ‘घुम्ती माटो परीक्षण शिविर’ कार्यक्रममा १६ वटै वडाका विभिन्न स्थानका माटोको ६०० नमूना परीक्षण गरिएको हो ।

माटो तथा मल परीक्षण प्रयोगशाला सुन्दरपुरको सहयोगमा भीमदत्त नगरपालिका तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइअन्तर्गत धान जोन इकाइद्वारा सञ्चालित शिविरमा सङ्कलन गरिएको माटोका नमूना परीक्षण गर्दा अधिकांशमा प्राङ्गारिक पदार्थको कमी, अम्लीयपन र क्षारियपनलगायत अधिक देखिएको छ । 

कुनै नमूनामा फोस्फोरसको मात्रा अधिक र कुनैमा पोटास र नाइट्रोजनको मात्रामा कमी देखिएको त्यसमा संलग्न प्राविधिकहरुले बताए ।

कस्तो माटोमा कुन खेती उपयुक्त हुन्छ । माटोको खाद्य शक्ति बढाउन के गर्नुपर्छ । उत्पादन कसरी बढाउन सकिन्छ लगायतका कुरामा किसानलाई सचेतना दिन नगरपालिकाले माटो परीक्षणको कार्य अगाडि बढाएको नगरप्रमुख सुरेन्द्र विष्टले बताए । 


“शिविरबाट किसानलाई माटो परीक्षणसम्बन्धी सचेतना बढ्ने र माटोको खाद्य शक्ति सुधार भई बढी उत्पादन भएर त्यसबाट राम्रो लाभ लिन सक्ने विश्वास लिएका छौ”, उहाँले भने । माटो तथा मल परीक्षण केन्द्रका वरिष्ठ माटो विज्ञ रामदरार यादवले माटो परीक्षणप्रति किसान सचेत हुन नसकिएको अवस्थामा यो कार्यक्रमले सचेतना अभिवृद्धिमा टेवा पुर्याउने बताए ।


“अधिकांश ठाउँको माटोमा प्राङ्गारिक पदार्थ कम देखिएको छ”, उनले भने, “हरियो मल, कुखुराको सुली, झारपात लगायतका प्राङ्गारिक पदार्थ प्रयोग गरी यसमा सुधार गर्न सकिन्छ ।”


वडा नं ६ बाट सङ्कलन गरिएको माटोको नमूना परीक्षण गर्दा फोस्फोरसको मात्रा बढी देखिएको छ भने वडा नं ३ मा यो कम देखिएको छ । डिएपी मलको अत्यधिक प्रयोगले फोस्फोरसको मात्रा बढी देखिएको हो । त्यस्तै पोटास र नाइट्रोजनको मात्रा पनि कम पाइएको माटो विज्ञ यावदले बताए । 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org