ताजा समाचार

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच बालुवाटरमा ३ घण्टा ‘गोप्य’ छलफल

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच बालुवाटारमा ‘गोप्य’ छलफल भएको छ ।

बुधबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा भएको दुई नेताबीचको छलफल करिव ३ घण्टा चलेको बालुवाटार स्रोतले जनाएको छ ।

बिहान ९ बजे बालुवाटार पुगेका प्रचण्ड र ओलीबीचको तीन घण्टा गोप्य छलफलपछि उनीहरुले पार्टीका माहासचिव विष्णु पौडेललाई पनि बालुवाटार डाकेका थिए ।

त्यसपछि ओली प्रचण्ड र महासविव पौडेलबीच त्रिपक्षीय छलफल भएको छ ।

ओली र प्रचण्डबीच भएको उक्त छलफलमा सरकारका काम कारवाहीप्रति बाहिर भएका आलोचना, नेकपाको एकता प्रक्रियामा भएको ढिलाइ, सरकारले ल्याएको विधेयक तथा जेठ १५ मा सार्वजनिक गर्न लागिएको बजेटलगायतका विषयमा कुराकानी भएको बताइएको छ ।

पछिल्लो समय सरकारले संसदमा पेश गरेका मिडिया काउन्सिललगायतका विधेयकमा प्रमुख प्रतिपक्ष दल तथा सञ्चारकर्मीहरुले चर्को विरोध गर्दै आएका छन् ।

प्रमुख प्रतिपक्षले मिडिया काउन्सिल विधेयक संसदबाट कुनै हालतमा पारित गर्न नदिने अडान राख्दै आएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले समेत केही विधेयकमा विवाद बढेपछि कानुनका जानकारहरुसँग छलफल चलाइरहेका बेला सत्तारुढ दलका दुई अध्यक्षबीच गोप्य भेटवार्ता भएको हो ।

त्यस्तै नेकपाको एकता प्रक्रिया अन्र्तगत पोलिटब्यूरो गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन हुन नसकेकोमा नेता कार्यकर्ताहरुमा असन्तुष्टी पोखिन थालेको छ ।

नेताहरुबीच छलफलपछि चाँडै नै सचिवालय बैठक बोलाउने विषयमा पनि कुराकानी भएको बताइएको छ ।

यसका साथै सार्वजनिक खरिद ऐन संशोधन गर्न बनेको विधेयकका बारेमा निर्माण व्यवसायीहरुले जनाएको आपत्तिका विषयमा समेत दुई नेताबीच कुराकानी भएको बुझिएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org