ताजा समाचार

विकासको काममा कुनैपनि अवरोध स्वीकार्य छैन : खानेपानी मन्त्री मगर

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले विकासको काममा कुनैपनि अवरोध स्वीकार्य नहुने बताएकी छन् ।

कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको मंगलबार चौथो नगरसभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले विकासको काममा कहीँ कतैबाट अवरोध आए सह्य नहुने बताएकी हुन् । उनले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरिन् ।

‘यहाँ विपक्षी दलका साथीहरुबाट गुण्डागर्दी शैलीमा हाकिमहरुलाई धम्क्याउने, थर्काउने जस्ता काम भईरहेको छ । प्रतिपक्षी दलले यो सब बन्द गरोस् ।’ उनले भनिन्, ‘कञ्चनपुर क्षेत्र नम्बर १ को विकासका लागि अवरोध कसैले सृजना गर्छ भने त्यो सह्य हुँदैन । कञ्चनपुर क्षेत्र नम्बर १ लाई नमुना क्षेत्रको रुपमा विकास गरेर देखाउँछौ । सक्नुहुन्छ भने साथ दिनुस होइन भने अवरोध गर्न बन्द गर्नुस् ।’

विकासको कार्यमा अवरोध पु-याउनेहरुसँग कडा प्रतिकार गरेर अघि बढिने उनको भनाइ छ ।

उनले कञ्चनपुरमा भन्सार नाका खोल्ने, बन्दा तालको विकास गर्ने, सांस्कृतिक सम्पदाको संरक्षण गर्ने र सडक विस्तार गर्ने लगायतका कामहरु अघि बढिरहेको जानकारी दिइन् । नेपाल भारत सीमा समस्या समाधान गर्नेदेखि कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ लाई नमुना शहरका रुपमा विकास गर्ने लक्ष्य रहेको मन्त्री मगरले बताइन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘नगरको दिगो विकास गर्दै यस क्षेत्रमा सबै प्रकारका विभेद अन्त्य गर्ने, भौतिक पूर्वाधारयुक्त सफा र सुन्दर आधुनिक बेलौरी बनाउने योजना छ । यहाँका नागरिकलाई सबल र आत्मनिर्भर बनाउँदै लगिने र यसका लागि बेलौरी नगरपालिकाका नेतृत्वहरुको पूर्ण सहयोग चाहिन्छ ।’

नगर सभामा नगर प्रमुख पोतिलाल चौधरीले आर्थिक वर्ष २०७६÷७७ को लागि ६० करोड ८५ लाख ९४ हजार बराबरको बजेट प्रस्तुत गरेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org