ताजा समाचार

युग परिवेश सुहाउदो पाठ्यक्रम निर्माणको योजनामा छाैंः प्याब्सन अध्यक्ष टिकाराम पुरी

काठमाडाैं । एसइईको नतिजा सार्वजनिक भएसँगै आम विद्यार्थीहरु आफुलाई सुहाउदो स्कुलको खोजीमा छन् । अभिभावकलाई समेत स्कुल छनोटको विषयले अलमल पारिरहेको हुन्छ ।

अहिले संचालनमा आएका नीजि तथा आवासिय विद्यालयहरुले भर्ना अभियानलाई तिब्रता दिएर अभिभावक ठगिएको भन्ने कुराहरु समेत बेलाबेलामा सुन्न पाइन्छ । आखिर किन यस्तो हुन्छ ? के निजी विद्यालयले ठगी गरेकै हुन त ? या प्याब्सन अन्तरगतका विद्यालया किन विद्यार्थी जाने भन्नेबारे न्युज-नेपालले केहि विषयवस्तु खोतल्ने प्रयास गरेको छ ।

यसै सन्दर्भमा न्युज-नेपालले प्याब्सन केन्द्रिय अध्यक्ष तथा एभरेष्ट इङलिस बोर्डिङ स्कुलका संचालक टिकाराम पुरीसँग गरिएको कुराकानीको संपादीत अंशः

तपाई नेतृत्वमा आएपछि प्याब्सनले के गर्दैछ ?

निजि विद्यालयलाई अत्यन्तै नियन्त्रित गरेर अस्तित्व रक्षा पनि हुन्छ कि हुदैन भन्ने अवस्थामा मैले प्याब्सनको नेतृत्व सम्हालेको हुँ । मैले नेतृत्व सम्हालेपछि सवैभन्दा पहिलो कुरा मेचि देखि महाकालीसम्मका साथीहरुलाई १४ औं राष्ट्रिय महाधिवेशनबाट बनेको कार्यसमितिले निजी विद्यालयको संरक्षण र सम्र्बद्धन गर्छ । तपाईहरु आत्तिनु पर्दैन, विश्वस्त हुनुहोस । यो कमिटि अरु जस्तो हैन । यो सर्वसहमत बनेको र ऐतिहासीक घडिमा बनेको पनि हो । जुन सुकै समस्या समाधान गर्न सक्ने सामथ्र्य यो किमिटी राख्छ । त्यसैले ढुक्क हुनुहोस भनेको थिए । हामी निजी विद्यालयको संरक्षण र सम्बद्र्धनप्रति प्रतिबद्द छौं

अर्को कुरा संस्था नविकरणसमेत थिएन । संगसंगै हामीले दुई वर्षे कार्यनिती र कार्यक्रम बनाइ क्यालेण्डर बनाईसकेका छौं । त्यसलाई कार्यान्वयनको बाटोमा अघि बढाई सकिएको छ । र यो समय विद्यालय भर्नालगायतका विषयले विद्यालयहरुलाई पनि ध्यान दिनुपर्ने बेला हो । यति मात्र नभएर हामीले शिक्षा निती बनाउन सरकारसँग तिब्ररुपमा लबिङ गरिरहेका छौं । सम्माननीय प्रधानमन्त्री, माननीय शिक्षामन्त्रीहरुँग पनि छलफल गरेर निजी विद्यालयमैत्री शिक्षा नितीका लागि लबिङ गरेका छौं । यसको परिणामस्वरुप सम्माननीय प्रधानमन्त्रीले निजी विद्यालयहरुको संरक्षण र संवद्र्दनमा यो सरकार प्रतिबद्ध रहेको छ भन्दै सार्वजनिक कार्यक्रममा बोलिसक्नु भएको छ । त्यसबाट हामी पनि ढुक्क छौं । निजी विद्यालय नै मास्नेगरि शिक्षा निती आउदैन ।

ल्याउन लागिएको भनिएको शिक्षा ऐनमा के कस्ता प्रावधान थिए र निजी विद्यालयका संचालकहरु आत्तिनुप¥यो ?

आत्तिए भन्दा पनि यो शिक्षासँग सरोकार नै नराख्ने र शिक्षालाई भित्र नबुझ्ने, अहिलेको एक्काइसौं शताब्दि नबुझ्ने, केहि परम्परावादी सोच भएका मानिसहरुले उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगमा प्रवेश पाए । नेपालको शिक्षामै उथलपुथल बनाउने किसिमका कुराहरु सार्वजनिक भए । आयोगमा प्याब्सनको प्रतिनिधित्व थिएन । लोकतन्त्रमा सरोकारवालाहरुको सहमति बिना जारी गरिएका कुराहरु टिक्दैनन् । कार्यान्वयन हुन सक्दैन । सरोकारवालाहरुसँग सम्पर्क नै नगरी उच्च स्तरीय राष्ट्रिय शिक्षा आयोगले प्रतिवेदन तयार ग¥यो । त्यो प्रतिवेदन औपचारीक रुपमा सरकारले सार्वजनिक त गरेन । तर त्यहि प्रतिवेदनमा भएका कुराहरु राखेर अहिले मस्यौदा अघि बढाइएको हो । त्यो मस्यौदाप्रति हाम्रो घोर आपत्ति छ । हामी त्यसलाई स्वीकार नै गर्दैनौं । हामीले स्वीकार नगरीकन ऐन बन्छ जस्तो लाग्दैन र बन्दैन पनि । हामीले यी विषयमा सरकारलाई सचेत गराइसकेका छौं । लोकतान्त्रिक व्यवस्थामा हामीलाई समेत सहमत बनाएर कानून बनाउने हो नि । किनभने , त्यो कानून लागु त हामीकँहा हुन्छ । कार्यान्वयन हामीले गर्नुपर्छ । असहमत हुँदा हुँदै बनाइएका कानून त टिक्दैनन् नि ।

तपाईको कार्यकालका प्राथमिकताहरु के के हुन्छन् ?

सवैभन्दा पहिलो कुरा त मैले १४ राट्रिय महाधिवेशनको दौरानमा उठाएको कुरा करिवन १० वर्षदेखि रहि आएको सामुदायीक विद्यालय र निजी विद्यालय बिचको विभेद हटाउनु छ । अब बन्ने राष्ट्रिय शिक्षा ऐनमा निजी विद्यालय मैत्री अथवा निजी विद्यालयपनि शिक्षाको एउटा महत्वपूर्ण पाटो हो भनेर त्यहाँ विभेद नहुने किसिमको शिक्षा निती बनाउनु नै पहिलो कुरा हो ।

दोस्रो भनेको सामाजिक सुरक्षा कोषको कुरापनि छ । असार मसान्त आइसकेको छ । माननीय श्रममन्त्री ज्यू सँग हामी छलफलमा छौं २०, २२ गतेसम्ममा हामी टुङ्ग्याउछौं । र सामाजिक सुरक्षा कोषको पनि एउटा उचित व्यवस्थापन गर्नुपर्ने छ । अहिले जुन ढंगले सामाजिक सुरक्षा ऐन जारी भएको छ । ति सवै प्रावधान राखेर कार्यान्वयन गर्नसक्ने तहमा सवै विद्यालय पुग्नै सक्दैनन् । त्यसो भएको हुनाले त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा अहिले छलफल चलिनै रहको छ ।

अर्को प्याब्सनको भवन बनाउनु छ । किनभने जुन ठाउँमा जग्गा छ, त्यहाँको बाटो साँघुरो छ । त्यसैले भवन निर्माणको काम थाल्न सकेका छैनौं । तर हामी चाँडै नै विकल्प सोचेर यहि कार्यकालभित्र प्याब्सनको सुविधासम्पन्न भवन पनि निर्माण गर्नुछ ।

यस्तै एकेडेमीक एक्सेलेन्सीको कुरा हामीले प्याब्सनका सदस्य विद्यालयमा सवै प्रदेशमा लानुपर्ने छ । पुरानै ढंगको शिक्षा दिलाउने हाम्रो परिपाटीलाई परिवर्तन गर्नुपर्छ । अहिलेसम्म हामीले विद्यार्थीलाई ज्ञान दियौं । तर सीप दिएनौं । त्यसैले सीपयुक्त शिक्षा दिने गरि अब हामी अघि बढ्नुपर्छ । अहिले सर्टिफिकेट मात्र दिँदै आएका छौं । तर अब सर्टिफिकेट सँगै सीपपनि दिनुपर्छ । तह अनुशारको सीप सिकेर जानेगरि शिक्षामा परिवर्तन गर्नुछ । त्यसका लागि हामीले छलफल गरेका छौं र सरकारसँग पनि छलफल गरिरहेका छौं । हामीले भनिरहेका छौं, विश्वमै अब्बल मानिने शिक्षा कँहाको छ ? त्यहाँबाट पनि हामी केही सिकौं । केही नयाँ कुरा नेपाल ल्याउ र दक्षिण एशियाकै शैक्षिक हवको रुपमा विकास गर्नुपर्छ । पुरानो परम्परागत शिक्षाले मुलुकलाई समृद्धीको दिशामा अघि बढाउन सक्दैन । अब हामीले उत्पादन गरेका जनशक्तिलाई हामीले नै प्रयोग गर्न सक्ने । उत्पादन गरेका जनशक्ति धेरै बाहिरीयो, सरकारले पनि रोजगारी दिन सकेन । त्यसो भएको हुनाले खासगरेर ह्युमन रिसोर्समा सर्भे गरेर दिर्घकालिन सोचका साथ १० वर्षमा कस्तो जनशक्तिको आवश्यकता पर्छ । २० वर्षमा कस्तो, ४० मा कस्तो हुँदै १०० वर्षसम्म नेपालमा कस्तो किसिमको जनशक्ति चाहिन्छ , सोहि अनुरुपको पाठ्यक्रम तयार गरेर अब हामी अगाडि बढ्नुपर्छ भनेर प्याब्सनले अहिले शिक्षामा परिवर्तन ल्याउन र नेपाललाई शैक्षिक गन्तव्य बनाउनलागि कदमहरु चालिरहेको छ ।

यतिमात्र नभएर प्याब्सनका सदस्य विद्यालयहरुले समयसापेक्ष २१ औं शताब्दी सुहाउँदो विद्यालयको रुपमा व्यवस्थापन गर्न सक्नुपर्छ । त्यसको वातावरण बनाउनु छ ।

निजी विद्यालयले सेवाका नाममा व्यापार मात्र गरे भन्ने आरोप लाग्ने गरेको छ नि ?

यहाँलाई प्रष्ट रुपमा भनौं । प्राइभेट स्कुल भन्ने वित्तिकै निजी व्यक्ति वा समूहले लगानी गरेको स्कुललाई बुझ्नुपर्छ । त्यो ऐनमा उल्लेख भएको कुरा हो । अब कसैलेपनि लगानी गरिसकेपछि सामान्यतया डुब्न हुदैन । त्यसको संरक्षण हुनुपर्छ । प्रमुख कुरा त्यहि हो । प्राकृतिक रुपमा पनि त्यहि नै हो नि त । त्यसो भएको हुनाले लगानी गरिसकेपछि त्यसको संरक्षण र त्यसमा मुनाफा पनि आउँछ थोरै थोरै । निजी भन्ने वित्तिकै स्वास्थ्य, शिक्षा वा पर्यटनमा होस उद्योगप्रतिष्ठान मा होस वा जुन सुकै क्षेत्रमा मुनाफा भएन भने त्यो टिक्दै टिक्दैन । त्यसकारण लागानी गर्नुको अर्थ पनि के हो भने समाजसेवा पनि र मुनाफाको कुरा पनि आउँछ । त्यसलाई लुकाउनु हुदैन । निजी विद्यालयमापनि फुसका छानो देखि ठूल–ठूला शिशाका महल पनि नेपालमै छन् । लिफ्टबाट कुद्ने, सुविधासम्पन्न फाइभ स्टार होटलजस्तै छन् । त्यसो भएको हुनाले विद्यालयमा भएका सुविधाहरु, शैक्षिक अवस्था, भौतिक पुर्वाधारलाई हेरेर सोहि अनुशारको शुल्क तोक्ने हो । त्यसकारण यहाँपनि विविधता छ । एकै किसिमको शुल्क पनि छैन । वर्तमान नेपालको ऐन अनुशार नै विशिष्ट, क, ख, ग र घ वर्गका समेत विद्यालय संचालित छन् । सोहि आधारमा रहि विद्यालय व्यवस्थापन अनुशार शुल्क तोकिन्छ र त्यहि लिएका छन् ।

निजी विद्यालयका संचालकहरुले छोटो समयै ठूलो आर्थिक लाभ लिन्छन् , त्यो सवै अभिभावकबाट नै हो । भन्ने पनि छन् नि ? एभरेष्ट पनि यो वर्गमा पर्दैन ?

विद्यालय व्यवस्थापन गरे अनुसारकै शुल्क तोकिनुपर्छ । र यो जहाँतहिँ त्यसरी नै हुन्छ । तथापी मैले के सुनेको छु भने, राजधानीका केहि स्कुलले अनावश्यक १ देखि डेढ लाख सम्मको मासिक शुल्क तोक्ने गरेको आदि इत्यादी । त्यो के का लागि ? भन्ने प्रश्न चाँही उठेको छ । अब सामान्यतया के हो भने , लगानी भन्ने वित्तिकै जोखिम छ । एभरेष्ट कै कुरा गर्ने हो भनेपनि अहिले हामीले पछिल्लो समयमा ५० करोडको लगानीमा नयाँ संरचना तयार गर्दैछौं । अहिले हामीले १५ करोड लगानी गरिसक्यौं । अब ३५ करोड फेरी थप्दैछौं । त्यो के का लागि भन्दा सुविधाका लागि । विराटनगरलाई शैक्षिक हव बनाउनका लागि । एभरेष्ट जुन ठाउँमा छ, त्यो भन्दा माथि पु¥याउन । देशमा एउटा राम्रो शिक्षण संस्था निर्माण गर्न । यदि देशमा राम्रो शिक्षण संस्थाको विकास भएन भने भोलीको दिनमा हाम्रा बालबालिकाले अध्ययनका लागि बाहिर नै जानुपर्ने हुन्छ । त्यसो हुनाले शिक्षाक्षेत्रमा लगानी विस्तार हुनु सकारात्मक हो ।

यहाँ विभिन्न खालका विद्यालयहरु छन् । एकै किसिमका हुदैनन् । हामीले लगानी बढाइरहेको पनि शिक्षाको विकासकै लागि हो । तर बाहिर जसरी मानिसहरुले मुल्याङ्कन गर्छन्, त्यस्तो तिब्र आर्थिक विकास भएको हैन । हामीले बैंकसँग ऋण लिएका छौं । करौडौं, अरबौं ऋण लिएर हामीले चलाएका छौं । हामीले जोखीम मोलेका हौं । जुनसुकै लगानीका क्षेत्रमा जानुस, ठूलठूला होटलहरु छन् ति एकैसाथ कमाएर लगानी गरिएको हो र ? ठूलठूला उद्योगहरु छन् । तिनीहरुको ऋण कति छ भित्र ? त्यस्तै हो । हामीलाई बैंकले ऋण प्रवाह ग¥यो र लियौं र त्यसले विद्यालयलाई विस्तार गर्दै अघि बढिरहेका छौं । लगानीलाई सवै आम्दानीको रुपमा सोच्नुहुदैन । यो लगानी विराटनगरको विकासका लागि, प्रदेशको विकास लागि र देशकै विकासका लागि पनि हो । भोली अहिलेका संचालकहरु सधैभरी त रहदैनौं नि । तर यो त यहीँ छोडिएर जान्छ नि । एउटा विकास त भयो । विराटनगरकै नोबेल मेडिक कलेजले के ग¥यो भन्दा, प्रदेशको राजधानी विराटनगर बन्न सहयोग त ग¥यो । यहाँ भएका अन्य अस्पताल, नर्सिङ होम, एभरेष्ट, विकेभीएम, सेन्टजोसेफलगायतका विराटनगरका विद्यालयहरुले के गरे त भन्दा यो ठाउँलाई राजधानी बन्न बल पु¥याए । त्यसकारण यसलाई सकारात्मक रुपमा सोच्नुप¥यो । यदि यहाँ शिक्षा, स्वास्थ्य, पर्यटन, उद्योगलगायतका सवै क्षेत्रले राम्रो अवस्था नबनाएको हुन्थ्यो भने सायद विराटनगर राजधानी नबन्न पनि सक्थ्यो होला । यसैले समाजको विकासका लागि यस्ता संस्थाहरुले सहयोग गर्छन् भन्ने कुरा समाजले सोच्नुपर्छ ।

निजी विद्यालयका उत्पादन सामुदायीक विद्यालयका विद्यार्थीको गुणस्तर हुदैन । निजीमा घोकाएर र सेटिङ मिलाएर मात्रै रिजल्टको परिणाम ल्याउँछन् भन्ने आरोप पनि लाग्छ नि ?

यो वाहियात हो । यो आरोपको कुनै अर्थ छैन । किनभने म एउटा विद्यालयको प्रिन्सिपल, संचालक र प्याब्सनको अध्यक्ष पनि हुँ । मैले अहिले शिक्षकको भ्याकेन्सी खोल्दाखेरी निजी विद्यालयकै प्रोडक्टहरु कति आउँछन् भनेर हेर्छु । किनभने, उनीहरुको भाषा राम्रो हुन्छ, उनीहरुले बुझेका छन्, अंग्रेजी राम्रो बुझेका छन्, बुझाउन सक्छन् । त्यतिमात्र हैन उनीहरुको अक्षर राम्रो हुन्छ, अनुशासित हुन्छन्, उनीहरुलाई सवै थाहा हुन्छ र म छानी छानी निजि विद्यालयबाट आएकालाई लिन्छु । अझ एभरेष्टको भेटीयो भने त म मरिहत्ते गर्छु । किन कि त्यो आफ्नो उत्पादन हो । त्यसो भएकाले सत्य यथार्थ भनेको के हो भने, अहिले निजी विद्यालयका उत्पादन सवै क्षेत्रमा प्रवेश गरेका छन् । इन्जिनियरीङ, मेडिकल, शिक्षणसंस्था, विश्वविद्यालय, निजामती सेवामा पनि निजी विद्यायका उत्पादन धेरै प्रवेश गरेका छन् । अहिले सवै क्षेत्रलागि अब्बल भनेकै निजी विद्यालयका उत्पादन हुन् । म सामुदायीक विद्यालयका विद्यार्थीलाई पनि होच्याउन चाहन्छ । त्यहाँका विद्यार्थीले पनि राम्रो गरेका छन् । अझ सामुदायीक विद्यालयको गुणस्तरमा सुधार गर्न आवश्यक छ । किनभने सामुदायिक विद्यालयको शिक्षामा सुधार गरिएन भने समग्र नेपालको शिक्षामा निजी क्षेत्रले मात्र सुधार गरेर पुग्दैन ।

एउटा प्रिन्सिपल भएर भन्दा तपाईको विद्यालय एभरेष्टको पोजिसन के हो ?

प्रिन्सिपल मात्रैको दृष्टिकोणबाट भन्ने हो भने एभरेष्ट प्रदेश १ कै अब्बल ठाउँमा छ । भर्खरै मात्र आएको एसईईको रिजल्ट पनि राम्रो आएको छ । हाम्रा ७५ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । ९० जनाले ए र ९ जनाले बि प्लसल्याएर उत्तिर्ण गरे ।

गत वर्ष मात्रै हामीले कक्षा १२ को उत्कृष्ट रिजल्ट ल्याउने नेपालको दोस्रो बनेर नेपाल सरकारबाट सम्मान पाएका छौं । त्यति मात्र नभई हामीले पटक पटक गरि चार पटक प्रदेशको उत्कृष्ट विद्यालयका रुपमा पुरस्कार र सम्मान पाएका छौं । यसबाट प्रमाणीत भइसकेको छ । हाम्री छात्रा सुनिधि केसीले व्यवस्थापन संकायबाट नेपाल प्रथम गरिन । त्यस्तै दुई पटक आगात पोखरेल र अनिश भण्डारी पूर्वाञ्चल फष्ट भएर गएका छन् । हाम्रो विद्यार्थी कतैपनि परिक्षामा फेल हुदैन । परिक्षामा मात्र होइन स्नातकोत्तरसम्म नै अब्बल छन् । र अहिले मेडिकल शिक्षा, इन्जिनियरीङ, निजामति सेवामा धेरै गएका छन् । पाइलट भएका छन् । एउटा प्रिन्सिपलका रुपमा मलाई कस्तो लाग्छ भने, हामीले उत्पादन गरेका जनशक्ति हरेक क्षेत्रमा अब्बल छन् । भलै हामीले तीन वर्ष अघि मात्र कक्षा ११ र १२ को अध्यापन शुरु गरेका हौ । हिजो मात्रै मैले एकजना अभिभावक भेटे उहाँले भन्दैहुनुहुन्थ्यो एक ब्याच अगाडीको हाम्रो विद्यार्थी पाइलट सिक्दै छन् त्यहाँ पनि अब्बल प्रमाणित गर्दै छन् । यसले मन भित्रैदेखि हर्षिद बन्छ । सम्झनुस त , आफूले पढाएको विद्यार्थीले उडाएको जहाज चढ्न पाउँदा, आफ्नै विद्यार्थीले विरामी हुँदा अस्पतालमा उपचार गर्दा वा हरेक क्षेत्रमा उनीहरुलाई पाए कति गर्व लाग्छ अनुमान नै गर्न सकिदैन । एभरेष्टले अहिले गरेको लगानी पूर्वाञ्चलमा शिक्षणसंस्थासँग प्रतिष्पर्धा गर्न मात्र होइन । यो लगानी कक्षा ११ देखि स्नातकोत्तर सम्मको अध्ययनका लागि उत्कृष्ट विद्यालयले बनाउने भौतिक पूर्वाधारको लागि गरिएको हो । यो नेपालकै उदाहरणीय बन्नका लागि प्रयत्न हो । हाम्रो प्रतिष्पर्धा उच्चस्तरको शिक्षाका लागि संघीय राजधानीसँगको प्रतिष्पर्धा हो ।

प्रविधि र सीपसँग जोड्नुपर्छ भनेर तपाईले भाषणहरुमा दोहोर्याइरहँदा तपाईको विद्यालय भित्र कसरी कार्यान्वयन गर्नुभएको छ ?

अहिले शिक्षाको नयाँ आयाम थप्न तीनवटा कुरामा ध्यान दिनुपर्छ । एउटा प्रविधि । यो एककाइसौं सताब्दी हो । प्रविधिबाहेकको शिक्षा हुदैन । पुरानै शैलीमा बोर्डमा लेख्ने र किताबबाट मात्र पढ्ने मात्र शिक्षा हुदैन । त्यसो हुनाले हरेक विषयलाई प्रविधिमा जोड्नुपर्छ । अर्को कुरा सीप । सीपमुलक शिक्षा हुनुपर्यो । एउटा कक्षा पढिसकेपछि केही न केही सीपपनि सुसक्नुपर्यो । यस्तै अर्को महत्वपूर्ण कुरा भनेको संस्कार हो । हाम्रो भाषा, हाम्रो भेष, हाम्रो बोली, शिष्टाचार, सभ्यता, राम्रा राम्रा परम्परा, हाम्रा चाडपर्वहरु हामी नेपालीहरुका गहना हुन् । यी छोड्नु हुदैन । अब हामीले यी संस्कारहरुलाई पनि शिक्षामा जोड्नुपर्छ । यी जोडिएनन भने समयसापेक्ष शिक्षा हुन सक्दैन । यहि भएर एभरेष्ट स्कुलले सस्कारको विकास गर्न लागि भ्यालु एजुकेशन लागु गरेका छौं । जुन भारतको रामकृष्ण पाउण्डेशनसँगको सहकार्यमा लागु गरेका हौं । यसले हाम्रा विद्यार्थी अनुशासीत बन्छन्, मर्यादित बन्छन् । नैतिक शिक्षा पाउँछन् । हाम्रो संस्कार सिक्छन् भनेर यो सिलेबस लगाएका हौं । दोस्रो सीप । अहिले हामीले तल्ला कक्षाहरुमा कन्टिन्यू एसिस्मेन्ट सिस्टम लागु गरेका छौं । जसले गर्दाखेरी हरेक पाठहरुमा सीप सिक्नुपर्छ भनेर लागिपरेका छौं । प्रविधिकै क्षेत्रमा भन्ने हो भने हाम्रा शिक्षक र विद्यार्थी नै ल्यापटप बोकेर आउनुहुन्छ, प्रत्येक कक्षामा प्राजेक्टर राखिएको छ । त्यसकै माध्यमबाट सिकाई हुन्छ । अब डिजिटल बोड ल्याउँदै छौं । र मन्टेश्वरीका कक्षाकोठाहरु वातानुकुतिल बनाएका छौं । अमेरीकाको पर्पल टटरलाई प्रयोग गरेका छौं । जहाँ कितावमा कलम छुँदा कलम बोल्छ । बच्चाहरुले सानै उमेरदेखि शुद्द अंग्रेजी बोल्न सक्छन् । हाम्रा कक्षाहरु एक्टिभिटी बेसमा सञ्चालन हुन्छन । सायद यहि भएर होला तपाईले हेर्न सक्नुहुन्छ, कक्षा ११ मा नयाँ भर्नाका लागि आवेदन दिने विद्यार्थीको भिड । हामी समयसापेक्ष उत्कृष्ट शिक्षा प्रदान गर्न कटिबद्ध भएर लागेका छौं , त्यो भावनाई विद्यार्थीले बुझेर साथ दिनुभएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org