ताजा समाचार

सतर्क रहनुस ! यी २५ जिल्लामा हुनेछ अत्यधिक वर्षा, मौसमविद यस्तो भन्छन्

काठमाडौ । मौसम पूर्वानुमान महाशाखाले देशका २५ जिल्लामा साताभर मेघ गर्जनसहित पानी पर्ने भविष्यवाणी गरेको छ । सक्रियता बढाउँदै गएको मनसुनले देशभर आफ्नो फैलावट बढाइसकेको अवस्थामा २५ जिल्लामा बढी पानी पर्ने भविष्यवाणी गरेको हो । यो बेला खाद्यान्नका बीउ र मानिसको जीउ जोगाउन सतर्क रहनुपर्ने मौसमविद्हरू बताउँछन् ।

महाशाखाले बिहीबार विशेष भविष्यवाणी गर्दै ती २५ जिल्लामा कहिले हल्का, कहिले मध्यम तथा कहिले भारी वर्षाको अवस्था रहने जनाएको छ । महाशाखाका वरिष्ठ मौसमविद् शान्ति कँडेलले शुक्रबारसम्म देशका अधिकांश क्षेत्रमा भारी वर्षा हुने जानकारी दिए ।

उनले भने, “भारी वर्षाले पूर्वी, मध्य क्षेत्रको पहाडी भेग र तटीय क्षेत्रमा बढी प्रभाव पार्ने हुँदा उच्च सतर्कता अपनाउनुपर्छ । विशेष गरी तराईका पर्सा, चितवन र आसपासका क्षेत्रका आकाश घना बादलले ढाकेको छ । ” उनले पश्चिमका दार्चुला, डडेलधुरा, कैलाली, कञ्चनपुरका क्षेत्रमा पनि लगातार वर्षाको सङ्केत गरे ।

शुक्रबारदेखि पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र महोत्तरी क्षेत्रमा साताको सुरु र मध्यमा सामान्यदेखि पूर्ण बदली रहने र अन्त्यतिर आंशिकदेखि सामान्य बदली रही अधिकांश स्थानमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ । केही स्थानमा भने भारी वर्षा हुने अनुमान गरिएको छ ।

तराई छुने बारा, पर्सा, चितवन, रुपन्देही, बाँके र कैलाली क्षेत्रका केही स्थानमा भारी वर्षा र अन्यमा मध्यम तथा सामान्य वर्षासहित साताभरि वर्षा हुने छ । मध्य र पहाडी क्षेत्रका धनकुटा, सङ्खुवासभा, दोलखा, धादिङ र काभ्रेपालाञ्चोक जिल्लामा पनि साताभर वर्षाको प्रभाव कायम रहने छ ।

पश्चिमतिर कास्की, पाल्पा, रुकुम, दाङ, सुर्खेत र डोटीमा साताको सुरुमा मध्यम र सामान्य वर्षा रहे पनि केही स्थानमा मेघ गर्जनसहित भारी वर्षा हुने छ । हिमाली भेगका विभिन्न स्थानमा हिउँ पर्ने र हिउँ पहिरोको सम्भावना रहेको कँडेलले बताए । जुम्ला, दार्चुला र मुस्ताङ क्षेत्रमा साताभरि नै मेघ गर्जनसहित वर्षा हुने छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org