ताजा समाचार

विप्लव कार्यकर्ता खाना खान होटल छिरेका बेला प्राविधिक त्रुटीले बम पड्किएयाे

काठमाडौं । कैलालीको धनगढीस्थित निलम होटलमा बिहीबार साँझ विस्फोट भयो । उक्त विस्फोटमा पाँच जना घाइते भए । घाइते पाँचै जनाको धनगढीस्थित मेट्रो अस्पतालमा उपचार भइरहेको छ ।

त्यहाँ ‘स्टिल कन्‍टेनर'(टिफिन बक्सजस्तो बीचमा प्वाल पारेर विस्फोट गराउन प्रयोग गरिने) बम विस्फोट भएको कैलालीका जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदीप गिरीले न्युज नेपाललाई जानकारी  दिए । घटनास्थलबाट नाइन एमएमको पस्तोलसमेत प्रहरीले बरामद गरेको छ ।

घाइतेमध्ये दुई जना विप्लव समूहकै भएको पुष्टि भएको छ । घाइते लक्ष्मण सेराला र राम सिंह दुबैजना विप्लव समूहका कञ्‍चनपुर जिल्ला सदस्य रहेको समेत खुलेको छ । घाइते हुनेहरूमा राम सिँह- बझाङ (विप्लब समूह),लक्ष्मण सेरला – बेलौरी ५ कन्चनपुर (विप्लब समूह),मोबिन खान (ठेगाना नखुलेको), जितेन्द्र यादव ( धनगढी ४ बोराडाँडी), केशवराज पाण्डे – होटल मालिक रहेको प्रहरीले जनाएको छ ।

धनगढीमा विस्फोट : पाँचजना घाइते, दुईजना विप्लव समूहका भएको पुष्टि

स्रोतका अनुसार उनीहरुले उक्त बम पहाडतिर लैजाने तयारी गरेका थिए । पहाड जानका लागि तयार भएका र खाना खान उक्त होटलमा छिरेका थिए । दुईजनामध्ये एकजनाले झोला भिरेका थिए । उक्त झोलामा भएको बम प्राविधिक त्रुटीवश पड्किएको जनाइएको छ ।

घाइते दुबै जना पूर्व जनमुक्ति सेनाका लडाकु रहेकोसमेत प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक गिरीले बताए ।

तर, यता विप्लव समूहका कैलालीका जिल्ला सेक्रेटरी प्रकाश मल्लले भने विप्लव समूहको संलग्‍नता नभएको प्रतिक्रिया दिएका छन् । उनले भने, “कहीँ विस्फोट तथा आतंक हुँदा सीधै विप्लव समूहको नाम जोड्ने र बदनाम गर्ने सरकारको नीति छ । अनावश्यक आरोपमा विप्लव समूहलाई मुछेर बदनाम गर्ने सरकारको नीति बन्द गरियोस् ।”

 

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
news-nepal.com 2017.hlon.org