ताजा समाचार

कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा विकास निर्माणका आयोजनाहरुलाई द्रुत गतिले अघि बढाउन माग

काठमाडौं । कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास निर्माणका आयोजनाहरुलाई तीव्रता दिन माग गर्दै खानेपानी मन्त्री बिना मगरको नेतृत्वमा गएको स्थानीय जनप्रतिनिधिहरु सहितको टोलीले विभिन्न केन्द्रीय मन्त्रीहरुसँग सोमबार छलफल गरेको छ ।

खानेपानी मन्त्री मगरको नेतृत्वमा प्रदेश साँसद तारा लामा, जिल्ला समन्वय समिति कञ्चनपुरका सभापति फैरु तामाङ र पुनर्वास नगरपालिकाका नगर प्रमुख (मेयर) जीवन थापा लगायतको टोलीले सोमबार उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित र सहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईसँग भेटघाट गरी कञ्चनपुर जिल्ला निर्वाचन क्षेत्र नं. १ को विकास आयोजनाका कामहरुलाई तीव्रता दिन माग गरेको हो ।

टोलीले स्वास्थ्य मन्त्री यादवसँगको भेटमा पुनर्वास नगरपालिका वडा नं. ५ मा अवस्थित त्रिभुवन राष्ट्रिय हेल्थ पोष्टलाई २५ शैय्या सम्मको अस्पताल बनाउन माग गरेको छ । उक्त क्षेत्रमा कुनैपनि अस्पताल नभएको र मान्छेहरु बिरामी पर्दा कि त भारत, कि त धनगढी जानु पर्ने भएकाले अस्पताल चाहिएको पुनर्वास नगरपालिकाका मेयर जीवन थापाले बताए ।

त्यस्तै टोलीले तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत नेपाल भारतको सीमादेखि सिम्रीसम्म ५ किलोमिटर र डोकेबजारदेखि दोंदा नदीसम्म ३ किलोमिटर सडक पिच गर्ने कार्यलाई तीव्रता दिन संघीय मामिला मन्त्री पण्डितसँग माग गरेको छ ।

त्यसैगरी सहरी विकास मन्त्रालय अन्तर्गत विनियोजन भएको ६० करोड बजेट मध्ये परासन गाउँदेखि भानुबस्ती, सिम्री हुँदै दशरथबस्ती सम्म करिब ९ किलोमिटर बाटो पिच गर्न टोलीले सहरी विकास मन्त्रीसँग माग गरेको छ । उक्त बाटो पिच गर्नका लागि ३० करोड लाग्ने अनुमान गरिएको मेयर थापाले जानकारी दिए ।

पुनर्वास नगरपालिका भित्रै पर्ने कोटिहोम धार्मिक पर्यटकीय स्थल निर्माण गर्नका लागि समेत आफूहरुले सहरी विकास मन्त्रीको ध्यानाकर्षण गराएको मेयर थापाले बताए । नजिकै बन्दा ताल र १२ बिघा जग्गा रहेकाले उक्त क्षेत्र धार्मिक पर्यटकीय दृष्टिले महत्वपूर्ण हुने मेयर थापाको भनाई छ । यो आयोजनाका लागि ३० करोड बजेट छुट्याइएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका क्षेत्रमा चक्रपथ बनाउने सरकारको योजना छ । चक्रपथ बनाउनका लागि अहिले विनियोजन गरिएको बजेट अपुग हुने भएकाले बजेट थप्न माग गरिएको मेयर थापाले जानकारी दिए । त्यस्तै आईबिआरडी बजारदेखि प्रतिभा नगर बजारसम्म करिब डेढ किलोमिटर बाटो पिच गर्न छुट्याइएको रकम कम हुने भएकाले बजेट थपेर काम अगाडि बढाउन सहरी विकास मन्त्रीसँग माग राखिएको उनले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org