ताजा समाचार

काश्मिर प्रकरणबाेर पाकिस्तानले खोज्यो नेपालको भूमिका

काठमाडाैँ । भारत प्रशासित जम्मू-काश्मीरबारे जानकारी गराउँदै पाकिस्तानले नेपालको भूमिका खोजेको छ।

पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरैशीले बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई टेलिफोनमार्फत काश्मीरको पछिल्लो अवस्थाको जानकारी गराउँदै नेपालको भूमिका खोजेका हुन्।

पाकिस्तानी विदेश मन्त्रालयका प्रवक्ताको कार्यालयबाट जारी विज्ञप्तिमा नेपालका परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीसँग भारत प्रशासित जम्मू काश्मीरका विषयमा कुराकानी गरेको उल्लेख गरिएको छ ।

पाकिस्तानी विदेशमन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘पाकिस्तानी विदेशमन्त्री शाह मोहम्मद कुरैसीले आफ्ना नेपाली समकक्षीसँग जम्मू काश्मीरका विषयमा चालिएको गैरकानुनी र एकतर्फी हस्तक्षेपका विषयमा कुराकानी गर्नुभएको छ जुन अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघ सुरक्षा परिषदको निर्णयको उल्लंघन समेत हो ।’

पाकिस्तानी विदेशमन्त्रीले भारतको यो कदमले सिंगो दक्षिण एसियाको शान्ति र स्थिरतामा नै प्रभाव गर्ने चिन्ता व्यक्त गरेका छन् ।

उनले सार्कको अध्यक्ष भएको नाताले शान्ति र स्थायित्व तथा जम्मू काश्मीरका जनताले भोग्नुपरेको समस्याका विषयमा आफ्नो भूमिका खेल्न आग्रह गरेका छन् ।

जवाफमा नेपालका परराष्ट्रमन्त्री ज्ञवालीले नेपालले जम्मू काश्मीरमा विकसित घटनाक्रमलाई नजिकबाट नियालिरहेको बताएका छन् ।

काश्मीरको मुद्दा शान्तिपूर्ण रुपमा समाधान गरिनुपर्ने पक्षमा रहेको बताएका छन् । दुई नेता यस क्षेत्रको शान्ति र स्थायित्वका लागि मिलेर अघि बढ्न सहमत भएका छन् ।

भारतले पनि काश्मीरका विषयमा आफ्नो धारणा सार्वजनिक गर्न आग्रह गरेको स्रोतले जनाएको छ । ५ अगस्टमा भारतले जम्मू काश्मीरलाई प्राप्त विशेष राज्यको मान्यता खोस्ने निर्णय गरेपछि दुई देशबीच समेत तनावको अवस्था सिर्जना भएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org