ताजा समाचार

ने क पा सचिवालय बैठक: महासचिव पौडेललाई दल दर्ताको जिम्मेवारी

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)ले आगामी मंसिर १४ गते हुने तीनै तहको उपनिर्वाचनको लागि दल दर्ताको जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।

नेकपाको बुधबार बसेको सचिवालयको बैठकले उपनिर्वाचन तयारीबारे निर्णय गरेको हो। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले उपनिर्वाचनको तयारीमा लाग्ने निर्णय गरेको हो।

बैठकबारे जानकारी दिँदै प्रवक्ता नारायणकाजी श्रेष्ठले उपनिर्वाचनबारे छलफल र निर्णय भएको जानकारी दिए। उनले भने, ‘आजको सचिवालयको बैठकले निकट भविष्यमा हुन गइरहेको संघीय संसद प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदको उपनिर्वाचनका लागि पुनः दल दर्ता गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार निर्वाचन आयोगले गरेको पत्राचारका आधारमा दल दर्ता गर्ने जिम्मेवारी महासचिव विष्णु पौडेललाई दिएको छ।’

निर्वाचन आयोगले आगामी मंसिर १४ गते उपनिर्वाचनका लागि मतदानको मिति तोकेको छ। जसका लागि दल दर्ता गर्नेबारे सूचना जारी गरिसकेको छ। नेकपाको एकताको बाँकी काम आगामी बैठकबाट गरिने पनि प्रवक्ता श्रेष्ठले जानकारी दिए। उनले भने, ‘सांगठनिक विषयमा अर्को बैठक बसेर निर्णय लिइनेछन्।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org