ताजा समाचार

सुमार्गीको स्याटेलाइट कम्पनीको लाइसेन्स खारेज गर्ने निर्णय सर्वोच्चद्वारा सदर

काठमाडाैं  । सर्वोच्च अदालतले व्यापारी अजयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकमको लाइसेन्स खारेज गर्ने नेपाल दुरसञ्चार प्राधिकरणको निर्णयलाई सदर गरिदिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र डा. मनोजकुमार शर्माको संयुक्त इजलासले लाइसेन्स बुझाउने निर्णय रोक्न अन्तरिम आदेश जारी गर्नु मनासिव नरहेको ठहर गरेको हो।

‘दूर सञ्चार ऐन २०५३ को दफा २८(४) बमोजिम अनुमतिपत्र खारेज गरिएको अवस्थामा चित्त नबुझ्ने व्यक्तिले नेपाल सरकार समक्ष उजुरी गर्न पाउने अवस्था समेत रहेको छ,’ आदेशमा भनिएको छ, ‘आफूले भुक्तान गर्नुपर्ने रकम नबुझाइ आलटाल गरेको अवस्थामा कानून बमोजिमको कारबाही र परिणाम व्यहोर्नु स्वाभाविक र नियमित प्रक्रिया हुन्छ, तसर्थ सुबिधा सन्तुलनका दृष्टिले विचार गर्दा अन्तरिम आदेश जारी गर्नु मनासिव देखिएन।’

प्राधिकरणले सुमार्गीको कम्पनीले बुझाउन बाँकी रहेको सात करोड दश लाख ६८ हजार ३ सय रुपैयाँ भदौ १ गते भित्र दाखिला गर्न पत्र काटेको थियो।

‘सो अनुसार २०७६ भदौ १ गतेभित्र बुझाउनु पर्ने भनिएको रकम बुझाएको भनि निवेदक तर्फबाट कुनै विवरण प्रस्तुत हुन आएको देखिएन,’ आदेशमा भनिएको छ, ‘यसपछि भदौ २ गते स्याटेलाइट प्रालिलाई प्रदान गरिएको अनुमतिपत्र खारेज भएको जानकारी समेत दिइएको पाइयो।’

नेपाल स्याटेलाइट टेलिकम प्रालिका तर्फबाट सुभाषचन्द्र पौडेलले नेपाल दुरसञ्चार प्राधिकरणलाई विपक्षी बनाएर साउन २९ गते सर्वोच्चमा मुद्दा दायर गरेका थिए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org