ताजा समाचार

योजना आयोगमा विवाद: उपाध्यक्ष र सदस्यबीच मनमुटाव

विराटनगर । गठन भएको एक वर्ष नपुग्दै एक नम्बर प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरुबीच मनमुटाव शुरु भएको छ ।

प्रदेश योजना आयोगका सदस्यहरुले उपाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टी जाहेर गरेका छन् । आयोगका उपाध्यक्ष सुवोध प्याकुरेलले पनि सदस्यहरुको कार्यशैलीप्रति असन्तुष्टी जनाउन थालेपछि उनीहरुबीचको मनमुटाव र असन्तुष्टी बाहिरिएको हो । २०७५ मंसिर १९ गते गठन भएको प्रदेश योजना आयोगमा अझै दुईजना सदस्य थप गर्न बाँकी छ ।

गठन भएको लामो समयसम्म मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा नै बस्दै आएका उपाध्यक्ष र सदस्यहरु तीन महिनादेखि भाडाको कार्यालयमा विराटनगरस्थित महेन्द्र मोरङ कलेज छेउमा बस्न थालेका छन् । आयोगका सदस्यहरुले उपाध्यक्षले आफुहरुलाई कुनै कार्यक्रमको बारेमा थाह नदिने, कतिपय निर्णय एक्लै गर्ने र आफुहरुलाई हेप्नेशैली देखाउने गरेको बताउँदै माथिल्लो निकायसम्म असन्तुष्टी व्यक्त गरेका छन् । उनीहरुले कतिपय योजना आयोगको कार्यक्रम सदस्यहरुलाई समेत जानकारी नहुने भन्दै असन्तुष्टी पोखेको श्रोतले बताएको छ ।

बुधबार आयोगको आयोजनामा भएको एक कार्यक्रममा समेत सदस्यहरुलाई थाह नभएको एक कर्मचारीले बताए ।

‘यीनिहरु साना हुन्, म ठुलो हुँ भन्दै उहाँले हेप्न खोज्नु भयो ।’ भन्दै सदस्यको गुनासो माथिल्लो तहमा पुगेको हो । सदस्य र उपाध्यक्षबीच राम्रो बोलचाल समेत हुन छाडेको छ । केही समयदेखि सदस्य पूर्ण लक्षम लिम्बु र उपाध्यक्ष प्याकुरेलबीच राम्रो बोलचाल छैन् । उनीहरुको विवादका कारण आयोगको बजेटमा समेत असर परेको एक कर्मचारीले बताए । बजेटका विषय पर्याप्त छलफल नगर्दा बजेट भाषणमा आयोगलाई चाहिने जति बजेट नछुटिएकाले असर परेको कर्मचारीले बताए ।

आयोगका सदस्य पूर्ण लक्षम लिम्बुले भने आयोगका उपाध्यक्षले अभिभावकत्व निर्वाह गर्न नसकेको बताए । उनले भने ‘उहाँ हाम्रो बुबा समानको व्यक्ति हुनुहुन्छ तर हाम्रो अभिभावकत्व ग्रहण गर्न नसकेको महसुस गरेका छौँ ।’

प्रदेश योजना आयोगमा तत्कालिन एमालेको तर्फबाट उपाध्यक्षमा सुवोध प्याकुरेल र सदस्यमा मीना भण्डारी र तत्कालिन माओवादीबाट पूर्ण लक्षम लिम्बु रहेका छन् । प्याकुरेल उमेरले ६५ कटेका छन् भने सदस्यहरु ३० माथिका छन् । यता उपाध्यक्ष सुवोध प्याकुरेलले भने ‘उहाँहरु कहाँ जानु हुन्छ, के गर्नु हुन्छ मलाई पनि थाह हुन्न् । कतिपय सन्दर्भमा उहाँहरु सहमती नलिइकन पनि हिडिदिनु हुन्छ ।’

प्याकुरेलले आयोगका निर्णयहरु उहाँहरुकै उपस्थितिमा गर्ने गरेको जानकारी दिनुभयो । कतिपय आफ्नो क्षेत्रअधिकार बाहेकका कुरामा पनि उहाँहरुले चासो राख्ने र आफुहरुलाई जानकारी दिनु पर्ने भन्दै अनावश्यक विषय जोड्ने गरेको प्याकुरेलले बताए ।

केही दिन अघि दुई जना सदस्यले मात्रै राष्ट्रपतिलाई भेटेको प्रसंगले समेत आयोगभित्र तरङ्ग छ । सदस्य भण्डारी र लिम्बुले राष्ट्रपतिलाई भेटेको फोटो सामाजिक सञ्जालमा राखेका छन् । यस विषयमा समेत उपाध्यक्षले असन्तुष्टी जनाएका छन् ।

आयोगको विषय प्रधानमन्त्री र राष्ट्रपति कहाँ पुगेको छ । २१ जना दरबन्दी रहेको अयोगमा अहिले मुस्किलले १० जना कर्मचारी छन् । आयोगमा आएका उपसचिव पनि हाजिर भएका छैनन् । आयोगको जिम्मेवारी पाएका मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव भरतमणि रिजाल कहिलेकाँही आयोग गएर कार्यालयको कामको अड्को फुकाउने गरेका छन् । विवादकै बीच यही १३ गते भने आयोगले प्रदेशको आवधिक योजना सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org