ताजा समाचार

वुमेन च्याम्पियन्स लिग: विराटनगरको विजयी सुरुवात

काठमाडौं । विराटनगर टाईटन्सले महिलाको फ्रेन्चाईज क्रिकेट लिग वुमेन च्याम्पियन्स लिग (डब्लुसीएल) मा विजयी सुरुवात गरेको छ ।

टियु क्रिकेट मैदानमा बिहिबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ४ विकेटले पराजित गर्दै विराटनगरले विजयी सुरुवात गरेको हो ।

ललितपुरले दिएको १ सय २३ रनको मध्यम लक्ष्य विराटनगरले १६ ओभरमा ६ विकेट गुमाएर पुरा गर्यो । विराटनगरको जितमा ज्योति पाण्डेले ६५ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ४३ बलमा १० चौका र १ छक्का प्रहार गरिन् ।

ज्योति जारी लिगमा अर्धशतक प्रहार गर्ने दोस्रो खेलाडी बनिन् । यसअघि क्याट क्विन्स काठमाडौंकी रुबिना क्षेत्रीले अर्धशतक बनाएकी थिइन् ।यस्तै सोनु खड्काले २४ तथा अश्मिना कर्मचार्यले १२ रन जोडिन् ।ललितपुरकी सम्झना खड्काले २ विकेट लिईन् ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ७ विकेट गुमाएर १ सय २२ रन बनाएको थियो । ललितपुरका लागि ममता चौधरीले सर्वाधिक २८ रन जोडिन् । यस्तै करुणा भण्डारीले २१ रन बनाईन् । कृति सेन र सम्झना खड्काले अविजित रहदै समान १३/१३ रन जोडिन् ।

विराटनगरकी सबनम राई र आरती बिडारीले एक एक विकेट लिईन् । जितसँगै विराटनगरले १ खेलमा २ अंक जोडेको छ । विराटनगर तालिकाको शीर्ष स्थानमा छ । ललितपुरले भने हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिको आयोजनामा सुरु प्रतियोगितामा ५ सहरका ५ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको विजेता टोलीले ७ लाख रुपैयाँ पाउने छन् । उपविजेता टोलीले ३ लाख रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीले टिभिएसको १ सय २५ सीसीकाे स्कुटर र ५० हजार पाउने छन् भने बेस्ट बलर र ब्याट्सवुमनले जनही २५ हजार प्राप्त गर्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org