ताजा समाचार

वुमन्स च्याम्पियन्स लिगको प्ले अफमा क्याट क्विन्स काठमाडौं, बाहिरियो ललितपुर

काठमाडौं । नेपालकै पहिलो फ्रेन्चाइज लिग वुमन्स च्याम्पियन्स लिग (डब्लुसीएल) क्रिकेटमा क्याट क्विन्स काठमाडौं प्ले अफमा पुगेको छ ।

आइतबार भएको खेलमा ललितपुर फाल्कोन्सलाई ८ विकेटले पराजित गर्दै काठमाडौं प्ले अफमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा ललितपुरले दिएको १०६ रनको सामान्य लक्ष्य काठमाडौंले १७ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो ।

काठमाडौंको लागि कप्तान रुबिना क्षेत्रीले अविजित रहदै ५९ रनको अर्धशतकीय इनिङ्स खेलिन् । उनले ५२ बलमा ९ चौका र १ छक्का प्रहार गरिन् । उनको यो दोस्रो अर्धशतक हो ।

यस्तै काठमाडौंको लागि रोमा थापाले १८ रन जोड्दा रश्मी चौलागाईले ९ र अप्सरी बेगमले अविजित ७ रन जोडिन् । ललितपुरकी सम्झना खड्का र अलिसा केसीले १/१ विकेट लिईन् ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ५ विकेट गुमाएर १०५ रन बनाएको थियो । ललितपुरका लागि रोशनी बोहराले अविजित रहदै २९ रन जोडिन् । यस्तै नेरी थापाले २२ रन जोड्दा ममता चौधरीले १५ रन जोडिन् । गीता गोसाईले १३ रन बनाईन् ।

काठमाडौंकी ईश्वरी बिष्टले २ विकेट लिईन्। सरस्वती कुमारीको नाममा एक विकेट रह्यो । जितसँगै काठमाडौंले ४ खेलमा ६ अंक जोडेको छ । र, काठमाडौं लिगको दोस्रो स्थानमा छ । ललितपुर भने प्रतियोगिताबाट बाहिरिएको छ ।

चितवन राइनोज यसअघि नै प्ले अफमा पुगिसकेको छ । लिगको शीर्ष टिम फाइनलमा पुग्ने छ । यस्तै दोस्रो र तेस्रो टिमले भने फाइनल प्रवेशको लागि एलिमिनेटर खेल खेल्ने छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org