ताजा समाचार

सागको समापन समारोहलाई प्रधानमन्त्रीले संबोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) को समापन समारोहलाई मङ्गलबार भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने भएका छन् ।

स्वास्थ्यलाभ गरिरहेका प्रधानमन्त्री समापन समारोहस्थल दशरथ रंगशाला जान नसक्ने भएपछि प्रधानमन्त्री निवासबाटै भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले प्रधानमन्त्रीले पदक विजेता नेपाली खेलाडीलाई प्रोत्साहनसहित विशेष सम्बोधन गर्न लागेको बताए । समापन समारोहअघि नेपाल र भुटानबीच पुरुष फुटबलको स्वर्ण पदकका लागि खेल हुँदैछ । खेलअघि दिउँसो १२:०० बजे संसद्-११ र राष्ट्रसेवक -११ बीच मैत्रीपूर्ण फुटबल हुनेछ । ३:०० बजे फुटबलको फाइनलपछि खेलाडीको मार्चपास सुरु हुनेछ ।

मार्चपास सकिएपछि सार्कको १४औं संस्करण आयोजक पाकिस्तानलाई झन्डा हस्तान्तरण गरिनेछ । समापन समारोहमा सांस्कृतिक कार्यक्रम, विद्यालयका विद्यार्थीको प्रदर्शन तथा ब्यान्ड र सराय नाचको विशेष प्रस्तुति रहनेछ । समापन समारोहमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल,ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ, राखेपका सदस्यसचिव रमेश सिलवाल र पाकिस्तानका प्रतिनिधिले सम्बोधन गर्नेछन् ।

यसैगरी समापनका अवसरमा नेपाल भ्रमण वर्षको केही कार्यक्रमसहित आतसबाजी गरिनेछ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org