ताजा समाचार

अण्डा पार्ने कुखुराहरुको कल्याण अभियान अझै व्यापक हुनुपर्ने खाँचो

काठमाडौं । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त जारी अभियानको प्रभाव सकारात्मक तरिकाले अगाडि बढिरहेकोले यसको अझै व्यापकता हुनुपर्ने राजधानीमा आयोजित एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उपभोगका हिसाबले पिंजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुनेमा पनि जोड दिएका छन् ।

देशका अधिकांश ठाउँमा पिंजडाभित्र कखुुरापालन गरिंदै आएकाले पिंजडामुक्त खोरका बारेमा चेतना जगाउनुपर्ने अवस्था बिर्सिन नहुनेमा पनि सहभागीहरुको चासो रहेको थियो ।

नेपालमै पहिलोपटक अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान चलाएको एनिमल नेपालद्वारा आयोजित कार्यक्रममा सार्वजनिक उपभोक्ता मञ्चका अध्यक्ष सहदेव गौतमले जीवनयापनका लागि पशुपंक्षीलाई पनि उपयुक्त वातावरण चाहिने भएकाले पशु अधिकारका विषयमा सचेत हुनुपर्ने बताए ।

‘मानिसले पशुपंक्षीको कल्याणमा समेत ध्यान दिनुपर्ने समय आइसकेको भन्दै उहाले यो विषयमा सरकार गम्भीर बन्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे ।

एनिमल नेपालका कार्यकारी निर्देशक हरिप्रसाद जोशीले प्राकृतिक वातावणमा रमाएर जिउने पशुपक्षीको जीवनको सुनिश्चितता ग्यारेण्टी गर्न सबैको सहयोग अपरिहार्य हुने बताए ।

पशुकल्याणको विश्वव्यापी मान्यतालाई स्थापित गर्नका लागि अभियानले सार्थकता पाउने विश्वास दिलाउनुभयो । अण्डा उत्पादन गर्ने कुखुराहरुको कल्याणका निमित्त अभियान कार्यक्रमका संयोजक निर्मल शर्माले काठमाडौँ र चितवनमा पहिलो चरणमा प्रारम्भ गरिएको अभियानबाट अपेक्षाकृत सहयोग मिलेको आकडा प्रस्तुत गरे । मुलुक कुखुरा र अण्डामा आत्मनिर्भर भएपनि स्वस्थकर वस्तुको उत्पादन तथा कल्याणमा विशेष जोड दिनुपर्नेमा सरोकारवालाहरुले चासो लिनुपर्ने उनले बताए ।

पिंजडामुक्त कुखुराबाट उत्पादित अण्डाको उपयोगप्रति प्रतिवद्धता जनाउनुभएका रेष्टुरेन्ट व्यवसायी हरिप्रसाद भेटवालले मानिसको स्वास्थ्यसँग सरोकार राख्ने विषयहरुमा सबैको सहकार्य आवश्यक हुनुपर्ने खाचो औल्याए । उनले राज्यका नीतिनिर्माण तहमा बस्ने व्यक्तिहरु पनि उपभोक्ता नै भएकाले उपभोक्ता अधिकार हननका विषयमा चनाखो हुनुपर्ने बताए ।

कार्यक्रममा रेष्टुरेण्ट व्यवसायी, उपभोक्तवादी,पत्रकार एवम् सरोकारवालाहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org