ताजा समाचार

पीपीएलः बुटवलविरुद्ध चितवनको १ सय १९ रनको शानदार जित

पोखरा । चितवन राइनोजले पोखरामा जारी दोस्रो संस्करणको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ  ।

पोखरा रंगशालामा बिहिबार भएको खेलमा बुटवल ब्लास्टर्सलाई १ सय १९ रनको फराकिलो अन्तरले हराउँदै चितवनले लगातार दोस्रो जित निकालेको हो ।

चितवनले दिएको २ सय ४ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बुटवल १८ ओभर ४ बलमा अलआउट हुँदै ८४ रनमा समेटियो ।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ३ विकेट गुमाएर २ सय ३ रन बनाएको थियो ।

चितवनले बनाएको यो योगफल पीपीएल क्रिकेटकै सर्वाधिक ठुलो रन हो । गत सिजन पोखराले विराटनगरविरुद्ध बनाएको १ सय ९७ रन सर्वाधिक ठुलो स्कोर रहेको थियो ।

चितवनको उच्च योगफलमा पारस खड्का र रोहन मुस्तफाले अर्धशतकीय इनिङ्स खेले ।

पारसले ४० बलमा ६ चौका र २ छक्कासहित ६३ रनको अर्धशतकीय इनिङ्स खेल्दा रोहनले अविजित ७० रन बनाए । रोहनले ५६ बलमा ७ चौका र २ छक्का प्रहार गरे ।

यस्तै आरिफ शेखले ४० रन बनाए ।

बुटवलका अफ्ताबुद्दीन अहमेदले २ तथा अविनास बोहराले १ विकेट लिए ।

जितसँगै चितवनले २ खेलमा ४ अंक जोडेको छ । पहिलो खेलमा चितवनले साविक विजेता पोखरा पल्टनलाई पराजित गरेको थियो ।

यस्तै, बुटवलले काठमाडौं गोल्डेनविरुद्ध सुपर ओभरमा रोमान्चक जित निकालेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org