ताजा समाचार

त्रिकोणात्मक क्रिकेट शृंखलाः अमेरिकाविरुद्ध नेपाल ८ विकेटले विजयी

काठमाडाैँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक शृंखलाअन्तर्गत आज भएको अन्तिम खेलमा नेपाल ८ विकेटले विजयी भएको छ।

त्रिवि क्रिकेट मैदानमा अमेरिकाले दिएको ३६ रनको लक्ष्य नेपालले ५.२ ओभरमा २ विकेट गुमाउँदै भेट्टायो। पारस खड्का २० र दिपेन्द्रसिंह ऐरी १५ रनमा नटआउट रहे। १२ बलको सामना गरेका पारस खड्काले १ छक्का र ३ चौका हाने। दिपेन्द्रले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

कप्तान ज्ञानेन्द्र मल्ल १ र सुवास खकुरेल शून्य रनमा पवेलियन फर्के। ओडीआईमा नेपालले अमेरिकालाई कम स्कोरमा रोक्दै विश्व कीर्तिमान समेत बनाएको छ। नेपालले पहिलो खेलमा पनि अमेरिकालाई ३५ रनमा हराएको थियो। जितसँगै घरेलु मैदानमा भएको ओमान सम्मिलित सिरिजमा नेपालले सुखद अन्त्य गरेको छ।

त्यसअघि लेग स्पिनर सन्दीप लामिछाने र सुसन भारीको घातक बलिङमा नेपालले ३६ रनको झिनो लक्ष्य पाएको थियो। नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको अमेरिका १२ ओभरमा ३५ रनमा अलआउट भयो। ओडीआई शृङ्खलामा अमेरिकाले दिएको सबैभन्दा कमजोर लक्ष्य हो।

यसअघि सन् २००४ मा जिम्बावे श्रीलंकासँग १८ ओभरमा ३५ रनमा अल आउट भएको थियो। जुन कीर्तिमान नेपालले १५ वर्षपछि बराबर गरेको हो। त्रिवि क्रिकेट मैदानमा नेपालका सन्दीप लामिछानेले ६ ओभरका १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिए।

सन्दीपले १२औं ओभरको तेस्रो बलमा अक्षय होमराजलाई पारस खड्काबाट ४ रनमा क्याच गराउँदै आफ्नो ओडीआई करिअरमा पहिलो पटक पाँच विकेट पूरा गरे। सन्दीपको यो करिअरकै उच्च प्रदर्शन हो। नेपालबाट ओडीआईमा ६ विकेट लिने सन्दीप नेपालबाट पहिलो खेलाडी बनेका थिए।

एकै सिरिजमा ओडीआईमा नेपालबाट पाँच विकेट पूरा गर्ने सन्दीप दोस्रो खेलाडी हुन्। यसअघि युएईसँगको दोस्रो एक दिवसीय खेलमा सोमपाल कामीले ५ विकेट लिएका थिए।

दोस्रो ओभरको अन्तिम बलमा स्पिनर सन्दीप लामिछानेले इयान होल्यान्डलाई शून्यमा क्याच आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाए।

होल्यान्डलाई फस्ट स्लिपमा रहेका पारस खड्काले उत्कृष्ट क्याच लिँदै शून्यमा पवेलियनको बाटो देखाएका थिए। सन्दीपले विकेट मेडन राख्दै अमेरिकालाई थप दबाबमा राखे। सुशनले आफ्नो पहिलो बलमै मार्शललाई फस्ट स्लिपमा रहेका पारसबाट १६ रनमा क्याच गराए। सुशनले सातौं ओभरको पहिलो बलमा मार्शललाई आउट गरेका थिए।

सुसन भारीले ३ ओभरमा १ मेडन राख्दै ४ विकेट लिए। ओपनिङ ब्याट्सम्यान जेभियर मार्सलले जोडेकने १६ रन नै अमेरिकाको लागि सर्वाधिक रह्यो। ४ ब्याट्सम्यानले खाता खोल्न नसक्दा ६ ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org