ताजा समाचार

चट्याङ लागेर दुईको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय यमकुमारी गर्बुजाको बेनी अस्पतालमा उपचारको क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते द्वयलाई सो अस्पताल ल्याएको केही समयमै चिकित्सकले मृत घोषणा गरेका थिए । शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ ।

मृतक पुन र गर्बुजा छिमेकी हुन् । यसैबीच शनिबार रातिको वर्षासँगै यहाँ उच्च पहाडी बस्तीमा हिमपात भएको छ । धवलागिरि गाउँपालिकाको गुर्जा, लुलाङ, मुना, मुदी, मल्कवाङ, मलम्पार, रघुगङ्गाको कुइनेमङ्गले, मङ्गलाको टोड्के, अन्नपूर्णको राम्चे, नागी, घोडेपानी, शिख, नारच्याङलगायतका बस्तीमा हिमपात भएको हो ।

दुई–तीन फिट बाक्लो हिउँ जमेको स्थानीयवासीले बताएका छन् । यो वर्षको मङ्सिरयता नौपटक भएको हिमपातले जनजीवनका साथै विकास निर्माणको कामलाई समेत प्रभावित बनाएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले जानकारी दिए ।

अन्नपूर्ण गाउपालिका–७ स्थित टिकोट माविका प्रअ प्रदीप पुनले धेरै वर्षपछि चैतमा हिमपात भएको बताए । बेमौसमी हिमपातले बर्खे र हिउँदे बालीलाई असर पुगेको कृषकले बताएका छन् । हिमपातका कारण सो गाउँपालिकाको नारच्याङमा निर्माणाधीन ११० मेगावाट क्षमताको नीलगिरि र नीलगिरि क्यासकेड तथा रघुगङ्गा गाउँपालिकाको ३७.५ मेगावाट क्षमताको कुइनेमङ्गले रघुगङ्गा जलविद्युत् आयोजनाको निर्माणकार्य प्रभावित भएको प्रवद्र्धकले बताएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org