ताजा समाचार

अज्ञातसमूहद्वारा डोजरमा आगजनी

म्याग्दी । अज्ञात समूहले म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गामा स्काभेटर र ब्याकुहोलोडरमा आगजनी गरेका छन् । क्याराभान कन्ट्रक्सनले बेनी–दरवाङ सडक आयोजनाअन्तर्गत लाम्पाटा–दरवाङ खण्डको सडक स्तरोन्नतिमा प्रयोग गरेको ती सामग्रीमा गएराती आगजनी भएको हो ।

आगजनीबाट ब्याकुहोलाडरको सबै भाग जलेर नष्ट भएको र स्काभेटरको आधा भाग जलेपछि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय दरवाङका प्रहरी निरीक्षक रामचन्द्र अधिकारीले जानकारी दिए ।

प्रहरी, जनप्रतिनिधि र निर्माण कम्पनीका प्रतिनिधिले आगो निभाएका थिए । आगजनी कसले के कारणले गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको उनले बताए । सडकको नजिकै पार्किङ गरेका निर्माण उपकरण आगजनी भएको सो कम्पनीका सञ्चालक सोमनाथ थकालीले बताए । उनका अनुसार आगजनीबाट रु एक करोडभन्दा बढीको क्षति भएको छ ।

पूर्वाधार विकास कार्यालय म्याग्दीमार्फत लाम्पाटादेखि दरवाङ जोड्ने छ किलोमिटर सडक कालोपत्रे गर्न सो कम्पनीले गत जेठमा ठेक्का लिएको थियो । म्याग्दीमा यसअघि गत साउनमा बेनी नगरपालिका–५ बगुवाखोलामा बिएन कन्ट्रक्सनका तीन वटा स्काभेटरमा अज्ञात समूहले आगजनी गरेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org