ताजा समाचार

कोरोना भाइरस : स्पेनमा मृत्यु हुनेको संख्या पनि चीनको भन्दा धेरै

एजेन्सि  । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण स्पेनमा एकै दिनमा ७३८ जनाको मृत्यु भएको छ ।

हालसम्म ३४३४ जनाको मृत्यु भएको स्पेनको स्वास्थ्य मन्त्रालयले बुधबार पुष्टि गरेको छ । मृत्यु हुनेको संख्या २७ प्रतिशतले वृद्धि भएको छ। यो हालसम्मकै उच्च दर हो।

स्पेन चीनभन्दा पनि अघि पुगेको छ, जहाँ यो महामारीको उत्पत्ति भएको थियो । चीनमा कोभिड-१९ का कारण तीन हजार २८७ जनाको मृत्यु भएको छ । तर अर्को युरोपेली मुलुक इटालीमा मृत्यु हुनेको संख्या सबभन्दा बढी छ । जहाँ ६ हजार ८२० जनाको मृत्यु भएको छ।

स्वास्थ्य मन्त्रालयको रिपोर्ट अनुसार पछिल्लो २४ घण्टामा स्पेनमा ७ हजार ९३७ जना नयाँ संक्रमितहरु भेटिएका छन् । जुन हिजोको तुलनामा २० प्रतिशतले बढी हो ।

हालसम्म मुलुकभर ४७ हजार ६१० जनालाई कोराना संक्रमणको पुष्टि भएको मन्त्रालयले जनाएको छ। तीन हजार १६६ जनाको आईसीयूमा उपाचार भइरहेको छ भने तीन हजार ७९४ जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

स्पेनमा सबैभन्दा बढी प्रभावित क्षेत्र राजधानी म्याड्रिड हो। कोरोनाका कारण म्याड्रिडमा मात्र १८२५ जनाले ज्यान गुमाइसकेका छन्। त्यो जम्मा मृत्यु हुने संख्याको ५३ प्रतिशत हो ।

म्याड्रिडमा १४५९७ जनालाई कोरोनाको संक्रमण देखिएको छ। नेपाली राजदूताबास समेत रहेको म्याड्रिडमा झण्डै ६ सयको संख्यामा नेपालीहरु रहेको अनुमान छ।

राजधानी म्याड्रिडपछि बढी प्रभावित क्षेत्र कातालोनिया हो । तीनदेखि चार हजारसम्म नेपालीहरु बसोबास गर्ने ठानिएको सो क्षेत्रमा पनि कोरोनाको संक्रमण दिनप्रतिदिन बढ्दो देखिन्छ।

पर्यटकीय शहर बार्सिलोना समेत रहेको कातोलोनिया क्षेत्रमा नौ हजार ९३७ जना संक्रमित भेटिएका छन्। कोभिड-१९ को कारण यहाँ हालसम्म ५१६ जनाको मृत्यु भएको छ ।

नेपालीहरुको बसोबास रहेको पाइसभास्को तेस्रो बढी प्रभावित क्षेत्र हो । सो क्षेत्रमा तीन हजार २७१ जना संक्रमित भेटिएका छन् भने १५५ जनाको मृत्यु भएको छ।

नेपाली दूतावास म्याड्रिडका अनुसार हालसम्म कुनै पनि नेपालीलाई कोभिड-१९ को संक्रमण भेटिएको छैन। स्पेनमा झण्डै १० हजार नेपालीहरु रहेको नेपाली समाजका अगुवाहरुले बताउँदै आएका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org