ताजा समाचार

राष्ट्रसंघको चेतावनी : कोरोना भाइरस मानवजातिकै लागि खतरा, शक्तिराष्ट्रले राजनीति नगरून्

एजेन्सि । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले कोरोना भाइरस महामारी मानव जातिकै लागि खतरा रहेको बताएका छन्।

उनले यसविरुद्ध सम्पूर्ण मतभेद बिर्सेर सबै राष्ट्र एकजुट हुनुपर्नेमा जोड दिएका छन्।  महासचिव गुटेरेसले कोरोनाविरुद्ध देशहरूको एक्लाएक्लै लडाईं अब पर्याप्त नहुने चेतावनी पनि दिएका छन्।

उनले कोरोना भाइरस मानवताविरुद्धको महामारी भएकाले यसलाई लिएर कुनै पनि देशले राजनीति गर्न नहुने बताए। अमेरिका र युरोपेलीसहित पश्चिमा देशहरुले कोरोना भाइरसलाई लिएर राजनीति गर्न खोजेको कुरा उठिरहेका बेला राष्ट्रसंघले यस्तो चेतावनी दिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोभिड-१९ लाई चाइनिज भाइरसको संज्ञा दिएका छन्।

युरोपेली मुलुक र अमेरिका कोरोना भाइरसले अस्तव्यस्त भइरहेका बेला राष्ट्रसंघले एकताबद्ध लडाइँको महत्त्व बताएका हुन्। तर शक्तिशाली देशहरू अझै यो भाइरसलाई लिएर फरक फरक कुरा राखिरहेका छन्।  विश्वका शक्तिशाली देशहरूको समूह ‘जी सेभेन’का विदेशमन्त्रीमाझ कोरोना भाइरसको स्रोतसम्बन्धी वक्तव्यमा राखिने वाक्यबारे मतभेद भइरहेका बेला राष्ट्रसंघको कडा टिप्पणी आएको हो। वक्तव्यमा अमेरिकाले ‘चीनको नियतवश गलत सूचना अभियान’ उल्लेख हुनुपर्ने बताको छ।

तर अन्य सदस्य राष्ट्रहरुले त्यसलाई अनावश्यक विभाजनकारी भनेर अस्वीकार गरिदिएका छन्। शक्तिराष्ट्रहरुसँग अब एकजुट हुनुको विकल्प नरहेको राष्ट्रसंघले जनाएको छ। राष्ट्रसंघले आधारभूत स्वास्थ्य सेवा नभएका जोखिमपूर्ण देशलाई मद्दत गर्न २ अर्ब डलर कोषको पनि घोषणा गरेको छ। विकासोन्मुख र गरिब देशमा कोरोना महामारी फैलिएमा लाखौँ मानिसले ज्यान गुमाउन सक्ने चेतावनी पनि राष्ट्रसंघले दिइसकेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org