ताजा समाचार

मुस्ताङमा अलपत्र ७० आफ्ना नागरिक ल्याउन फ्रेन्च दूतावासले पठायो चार्टर्ड जहाज

काठमाडाैँ । अन्नपूर्ण फेरो पदयात्रा र मुस्ताङ घुम्न गएका ७० जना विदेशी पर्यटकलाई अहिले उद्धार गरेर काठमाडौं पठाउन लागिएको छ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङको पहलमा दुई वटा बसमा राखेर उनीहरूलाई काठमाडौं लैजान लागेको बताइएको छ।

मुक्तिनाथमा रहेका ३५ जना र जोमसोममा रहेका ३५ जना पर्यटक काठमाडौं जानका लागि हिँडेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान)का पश्चिमाञ्चल अध्यक्ष हरि भुजेलले जानकारी दिए।

भुजेलका अनुसार काठमाडौंस्थित ब्राजिलको दूतावासले पनि आफ्ना नागरिकबारेमा चासो दिएका छन्। अहिले पोखरामा ४ जना ब्राजिलियन नागरिक भेटिएको र जसमा ३ जना यहीं बस्न खोजेका छन्। एक जना भने फर्कन चाहेकाले व्यवस्था मिलाउन लागेको भुजेलले बताए।

काठमाडौंस्थित फ्रान्सेली दूतावासले पोखरामा रहेका आफ्ना नागरिकको उद्धार गर्न विमान चार्टर गरेको छ। पोखरा र आसपास घुम्न आएका आफ्ना नागरिकलाई उद्धार गर्न ७२ जना क्षमताको विमान चार्टर गरेको बुद्ध एयरको पोखरा स्टेशन म्यानेजर गौतम बरालले जानकारी दिए।

दूतावासका अनुसार अहिलेसम्म पोखरामा ४७ जना फ्रेन्च नागरिक सम्पर्कमा आएका छन्। यो संख्या बढेर ६० जना पुग्ने दूतावासको अनुमान छ। उनीहरूको सामानसहित लैजाँदा ६० जनाभन्दा धेरै बोक्न नसक्ने बुद्ध एयरका म्यानेजर बरालले बताए।

‘फ्रेन्च नागरिकको उद्धार गर्न दूतावासले विमान चार्टर गरेको छ,’ बरालले सेतोपाटीलाई भने, ‘उनीहरूले आफ्ना नागरिकलाई पोखराबाट लैजान हाम्रो विमान आउँदैछ।’

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि पर्यटक अलपत्र परेका छन्। अन्य देशका पर्यटक उद्धारबारे भने अहिलेसम्म जानकारी नभएको बरालले बताए।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org