ताजा समाचार

प्रधानमन्त्री ओलीलाई भेट्न प्रचण्ड पुगे अस्पताल

काठमाडौं । स्वास्थ्यमा समस्या आएर राति नै अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन अध्यक्ष दाहाल केहीबेरअघि अस्पताल पुगेका हुन् ।

गत फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले पछिल्ला दिनमा महत्त्वपूर्णबाहेकका भेटघाट बन्द गरेका थिए ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि राति नै प्रधानमन्त्री ओलीलाई थप उपचारका लागि त्रिवि शिक्षण अस्पताल लगिएको स्रोतले जानकारी दिएको छ ।

उनलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको स्रोतले जानकारी दियो ।

नागरिकलाई घरमै रहन आग्रह गर्दै आफूले निवासबाटै सरकार, सत्ता चलाइरहेको बताएका प्रधानमन्त्री ओलीको मुटुको चालमा घटबढ भएपछि राति नै अस्पताल लैजानुपरेको थियो ।

यसअघि मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकहरू बालुवाटारमै आएर नियमितजसो फलोअप गरिरहेका थिए ।

बाह्य सङ्क्रमण नछिरोस् भनेर प्रधानमन्त्री निवासको २ नम्बर र ३ नम्बर गेटमा स्वास्थ्य जाँच गरिने र सुरक्षाकर्मी निश्चिन्त भएपछि मात्रै भित्र पठाउने गरिएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org