ताजा समाचार

मन्त्रिपरिषद् बैठक : लकडाउनको अवधि र स्वास्थ्य सामग्री खरिद अनियमितताबारे छलफल

काठमाडाैँ ।  मन्त्रिपरिषद्को बैठक अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा बसिरहेको छ।

अपरान्ह सवा ४ बजेदेखि मन्त्रिपरिषद् बैठक बसिरहेको हो। आजको मन्त्रिपरिषद् बैठकलाई विशेष महत्वका साथ हेरिएको छ। कोरोना रोकथामसम्बन्धी स्वास्थ्य सामग्री ढुवानीमा गर्न खोजिएको अनियमिततालाई लिएर प्रधानमन्त्री केपी शर्मा ओली असन्तुष्ट रहेको बुझिएको छ।

स्वास्थ्य सामग्री खरिदमा गडबडी गर्न खोजिएको सूचना बालुवाटार पुगेपछि प्रधानमन्त्रीले आजको बैठकमा केही मन्त्रीहरुसँग सोधखोज गर्न सक्ने बताइएको छ।  स्वास्थ्य सामग्री खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्‍नेबारे सञ्‍चारमाध्यममा समाचारआएपछि त्यसबारेमा प्रधानमन्त्रीले कोरोना रोकथाम उच्चस्तरी समितिका संयोजक ईश्‍वर पोखरेल तथा विभागीय मन्त्रीहरुसँग छलफल गर्ने भएका हुन्।

स्वास्थ्य सामग्री खरिदमा आफूनिकट एजेन्ट र दलाललाई प्रयोग गरेर भ्रष्टाचार गर्न खोजेको भन्दै उपप्रधानमन्त्री ईश्‍वर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियारमा उजुरी परिसकेको छ।  त्यसैगरी स्वास्थ्य सचिव यादव कोइराला र स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठलाई सर्वोच्चले बोलाएको छ। विवादमा तानिएपछि स्वास्थ्य मन्त्रालयले प्रधानमन्त्री ओलीकै निर्देशनमा ‌ओम्‍नी समूहसँगको ठेक्का सम्झौता रद्द गरिसकेको छ।

यो बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणको लागि हाल जारी लकडाउनको अवधि बढाउनेबारेमा छलफल हुने भएको एक मन्त्रीले जानकारी दिए। नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि सरकारले कम्तीमा वैशाख पहिलो सातासम्म लकडाउन लम्बाउने रणनीति बनाएको हो।  पछिल्लो पटक शनिबार मात्रै कैलाली र कञ्‍चनपुरमा तीनजना कोरोना संक्रमित भेटिएका छन्। ‘ट्राभल हिस्ट्री’ नभएकी एक महिलासममेत कोरोना संक्रमित भएपछि सरकारले थप कडा कदम चाल्ने अनुमान गरिएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org